धनगढी- सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत बढीमा धान रोपाइँ सकिएको छ।
कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीका अनुसार सोमबारसम्म कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत बढी रोपाइँ भइसकेको बताए।
कृषि निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार असार ११ गतेसम्म प्रदेशभर कुल खेतीयोग्य जमिनको ४५ दशमलव ९३ प्रतिशतमा रोपाइँ भएको उल्लेख छ।
प्रदेशमा एक लाख ८५ हजार ८४७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ। निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबारसम्म ८५ हजार ३६८ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ।
प्रदेशमा सबैभन्दा बढी दार्चुला जिल्लामा रोपाइँ भएको छ। निर्देशनालयले दिएको विवरणअनुसार दार्चुलामा चार हजार ४८० हेक्टरमा रोपाइँ हुँदै आएकोमा दुई हजार ७७७ हेक्टरमा रोपाइँ भइसकिएको छ।
डडेल्धुरामा ६ हजार १८८ हेक्टरमा रोपाइँ हुँदै आएकोमा तीन हजार ७१२ हेक्टरमा रोपाइँ गरिसकिएको निर्देशनालयले जनाएको छ।

प्रदेशमा सबैभन्दा कम रोपाइँ कञ्चनपुरमा भएको छ। कञ्चनपुरमा ४८ हजार ४७५ हेक्टरमा रोपाइँ हुँदै आएकोमा १६ हजार ९६६ हेक्टर (३५ प्रतिशत) मा रोपाइँ सकिएको छ।
कैलालीमा ७० हजार पाँच सय २० हेक्टरमा रोपाई हुदै आएकोमा शुक्रबारसम्म ३८ हजार ७८६ हेक्टरमा रोपाइँ भइसकिएको छ।
निर्देशनालयले दिएको जानकारीअनुसार डोटीमा १० हजार ७१५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकोमा चार हजार ५०० हेक्टर, बैतडीमा ९ हजार हेक्टरमा रोपाइँ हुँदै आएकोमा चार हजार ५०, बझाङमा १२ हजार ७०४ हेक्टरमा रोपाइँ हुँदै आएकोमा पाँच हजार ७१६, अछाममा १६ हजार ५९० हेक्टरमा रोपाइँ हुँदै आएकोमा सात हजार ४६५ हेक्टर र बाजुरामा सात हजार १७५ हेक्टरमा रोपाइँ हुँदै आएकोमा तीन हजार ९४६ हेक्टरमा रोपाइँ भइसकेको छ।
यसपालि मनसुन चाँडो भित्रिएका कारण रोपाइँ पनि चाँडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ।