शनिबार, वैशाख २२, २०८१

माया नमार : रमितले माया मार्न नसक्ने त्यो फिल्म र त्यसका किस्साहरू

अहिले पनि जब रमित कतै पुग्दा ‘मुग्लिन पारि तरेर गण्डकी’ या ‘के सोचेथेँ जीन्दगीमा’ जस्ता गीत बजिरहेको सुन्छन्, एकाएक डेब्यू फिल्मको समयमा फर्किहाल्छन्।
 |  मंगलबार, असार १५, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, असार १५, २०७८

काठमाडौं- १८ वर्षअघिको कुरा हो। त्यतिबेला लामो कपाल, गठिलो शरीर, मिलेको जिउडाल नै नेपाली सिनेमामा हिरोको मानक थियो। यही मानकमा फिट भएर राजेश हमालको टाउको सिनेमामा खुब बिकिरहेको थियो।

triton college

त्यही बेला सहरमा नेपाली सिनेमाका नयाँ ‘चकलेटी हिरो’का रुपमा उदाउँदै गरेको नाम थियो, रमित ढुंगाना। ६ फिट २ इन्च अग्ला । सर्टकर्ट नाम ‘आरडी’। यस्तैयस्तै विशेषण जोडेर पत्रपत्रिकाहरु उनीबारे लेखिरहेका थिए। उनी त्यही पढेर मख्ख परिरहेका हुन्थे।  यो स्वाभाविकै थियो, कारण त्यसै बेला उनको पहिलो फिल्म ‘माया नमार’ देशभरका सिनेमा हलहरुमा सफलतापूर्वक प्रदर्शनको ५१ दिन मनाइरहेको थियो। 

‘म जीवनमा जेजति बनेँ, सायद यही फिल्मका कारण बनेँ,’ रमित सम्झन्छन् ‘फिल्म यति चल्यो कि केही हलमा त यसले १५१ दिन नै मनायो। त्यसैले यो फिल्मलाई म सधैं मेरो करिअरकै अर्थपूर्ण फिल्म मान्छु। ’

अहिले पनि जब रमित कतै पुग्दा ‘मुग्लिन पारि तरेर गण्डकी’ या ‘के सोचेथेँ जीन्दगीमा’ जस्ता गीत बजिरहेको सुन्छन्, एकाएक डेब्यू फिल्मको समयमा फर्किहाल्छन्।

जब यो फिल्मसँग जोडिएका पुराना तस्बिर या क्लिपहरु हेर्न पुग्छन्, एकाएक उनको मस्तिष्कमा त्यतिबेलाको सुटिङ, सिनेमा हलको भिड, क्रेजी फ्यानको प्रेम आँखामा नाच्न थालिहाल्छन्, उसैगरी जसरी उनी सिनेमामा नाचेका थिए।

corrent noodles
Metro Mart

अकस्मात् बनेका हिरो 

कलाकार अमित ढुंगानाका भाइ हुन्, रमित। घरको पारिवारिक माहोल नै सिनेमामय थियो। दाइलाई सुन्दा, सुटिङहरु हेर्दा र कलाकारहरु भेट्दाभेट्दै कताकता उनको मनमा पनि सिनेमाप्रति मोह बसिसकेको थियो। तैपनि, हिरो बन्छु भन्ने सोचिसकेका भने थिएनन्। 

उनकै परिवारले ‘माया नमार’ निर्माण गर्ने तयारी गरिरहेका बेला रमित १९ वर्षका मात्र थिए। घरायसी लगानीमा निर्माण हुन लागेको पहिलो फिल्म थियो त्यो। त्यसैले उनलाई ‘हिरो’ बनाएर रिस्क लिन चाहन्थेनन् कोही।
 
त्यसो त राजेश हमाल नै यो फिल्मका लागि अनुबन्धित भइसकेका थिए। प्रेम कथामा आधारित फिल्मको ‘अनुप’ पात्रका लागि भने अरु नै कोही कलाकारको खोजी भइरहेको थियो। सोचेजस्तो कोही फेला नपरिरहेका बेला एकदिन हमालले भनिदिए, ‘हाम्रै आरडीलाई खेलाम् न। घरमै कलाकार हुँदाहुँदै किन बाहिर खोज्ने?’

‘खासमा म अकस्मात् बनेको हिरो हुँ। राजेश दाइले नै त्यस्तो सुझाव नदिएको भए सायद ममा हौसला बढ्थेन, म हिरो बन्थिनँ। त्यसैले म उहाँलाई सधैँ मेरो सिनेमाको आइडल मान्ने गर्छु,’ रमित भन्छन्।

दुःखको कुरा, रमितले यो फिल्ममा राजेश हमालसँग स्क्रिन सेयर गर्न भने पाएनन्। ‘राजेश दाइसँग एउटा पनि सिन सँगै नहुँदा त्यतिबेला कताकता नमज्जा लागेको थियो। तर, हरेक कुराको समय आउने रहेछ। त्यसपछिका थुप्रै फिल्ममा भने राजेश दाइ र मैले सँगै स्क्रिन सेयर गर्न पायौँ,’ उनी खुसी छन् अहिले। 

फिल्म खेल्नुअघिसम्म रमितको कपाल यति लामो थियो कि कम्मरसम्म आउँथ्यो। खासमा उनी कपाल काट्नै चाँहदैन थिए। तर, सबैले सुझाए– ‘हिरोइनको भन्दा लामो कपाल राखेर त हिरो भइन्न।’ त्यसपछि उनी आधा छोट्याउन तयार भए। तैपनि पर्दामा हेर्दा दर्शकले उनलाई लामो कपालमै देखे। ‘मेरो त्यो भन्दा लामो कपाल थियो भन्ने थाहा नहुनेलाई त्यो नै लामो लाग्यो,’ रमित हाँस्दै सुनाउँछन्।     

पहिलो सटलाई १० टेक 

जतिबेला रमित फिल्मको ‘हिरो’ बन्दै थिए, त्यतिबेला उनले कहीँकतै अभिनय सिकेका थिएनन्। यो क्षेत्रका लागि विल्कुल नयाँ थिए। त्यसैले पनि उनीबाट काम निकाल्न निर्देशक मदन घिमिरेलाई गाह्रो थियो। 

सुटिङमा पहिलो सट लिँदा १० टेक खाएको त रमित स्वयम् कहिल्यै बिर्सदैनन्। यो फिल्मकी अभिनेत्री थिइन्, सञ्चिता लुईंटेल। सुटिङताका रमितको पहिलो सट सञ्चितासँगै थियो। सटअनुसार रमितले हिरोइनलाई ‘तिमी कहाँ गएर आ’को?’ भनेर सोध्नुपर्ने थियो। त्यति भन्न पनि उनलाई १० टेक खानुपर्‍यो। ‘कहिल्यै अभिनय गरेको थिइनँ, त्यसैले यति डाइलग ‘डेलिभर’ गर्न मलाई समय भयो। लास्टै नर्भस भएको थिएँ म,’ रमित सम्झन्छन्। 

काठमाडौंमा राति सुटिङ गरिरहेका बेला भएको झगडा पनि रमितको स्मृतिमा ताजै छ। ‘त्यतिबेला टोल वरिपरिकै एक हुल केटाहरु ‘यति राति केको सुटिङ’ भन्दै थर्काउन आइपुगे। मैले सम्झाउन खोज्दा उल्टै मलाई धकेले। मलाई पनि रिस उठ्यो, मैले पनि धेकेलेँ। त्यसपछि हात हालाहालको स्थिति नै सिर्जना भएको थियो,’ रमित सुनाउँछन्। 

ट्राफिकसँगको त्यो किस्सा

‘माया नमार’ फिल्ममा पाँचवटा गीत छन्। पाँचवटै गीत हिट भए। रमितको दाबीअनुसार गीत यति हिट भयो कि त्यतिबेला यो फिल्मको गीति क्यासेटको बिक्रीबाट मात्रै करिब २० लाख आम्दानी भएको थियो। 

पाँचमध्ये एउटा हिट गीत हो, ‘सुसेलीले वसन्तलाई डाँकु डाँकु जस्तो।’ यो गीतसँग पनि सुटिङको रमाइलो सम्झना छ। पृथ्वी राजमार्गमा सुटिङ भइरहेको थियो। गीत सुटिङका क्रममा पछाडि सञ्चितालाई राखेर रमित भिआर बाइक चलाइरहेका थिए। पर अगाडिबाट क्यामेराले खिचिरहेको थियो। एक्कासि बाइकलाई ओभरटेक गर्दै ट्राफिक प्रहरीको गाडी अगाडि आइपुग्यो। बाइकलाई रोकियो। अनि, बिना हेल्मेट बाइक कुदाइरहेका रमितलाई ट्राफिकले थर्काए। खोइ हेल्मेट भन्दै लाइसेन्स माग्न थाले। 

बाहिर अलिअलि आत्तिए पनि मनमनै रमित हाँस्न थाले। त्यसपछि ट्राफिकलाई क्यामेरातिर औँला तेर्स्याउँदै स्पष्ट पारे, ‘सर, यो त फिल्मको सुटिङ हो। उ पर क्यामेरा हेर्नुस् त।’ क्यामेरा देखेर प्रहरी पनि हाँसे र छोडिदिए।

लाज लागेको दृश्य

फिल्ममा रमितले वर्षा राउतसँग स्विमिङ पुलमा सेयर गरेको अर्को एक दृश्य छ, जसको टेक लिन रमितलाई खुब सकस भएको थियो। ‘पहिलो फिल्म भएर होला, त्यो सिन गर्न मलाई साह्रै लाज लागेको थियो,’ उनले सुनाए। अहिले भने त्यस्ता दृष्य गर्न गाह्रो लाग्दैन।

फिल्ममा राजेश हमालसँग स्क्रिन सेयर गर्न नपाए पनि उनले रमितलाई अभिनयबारे धेरै सुझाव दिने गर्थे। यो फिल्मका लागि उनले दिएको एक सुझाव उनी अझै बिर्सदैनन्। ‘हामीलाई प्रहरीको भ्यान चाहिएको थियो तर माइक्रो बसलाई त्यसरी देखाउन लागेका थियौँ। राजेश दाइले त्यस्तो नगर्नु, प्रहरीलाई निवेदन दिएर प्रहरीकै भ्यान प्रयोग गर्नुस् भनेर हामीलाई सुझाव दिनुभयो। त्यसपछि मात्रै हामीले त्यसै गर्‍यौँ,’ उनले सुनाए।

सडकमै ढलेकी फ्यान

रमित निजी गाडीमा ‘माया नमार’को ५१ दिनको सेलिब्रेसनका लागि झापा जाँदै थिए। हेटौँडा र बर्दिवासको बीचमा पुगेपछि बाटो अल्मलिए। अगाडि तीन जना युवती आइरहेका थिए। रमितले गाडी रोके, अनि सोधे– ‘यो बाटो कहाँ जान्छ?’ प्रश्न नसकिँदै तीनमध्ये एक युवती बाटोमै ढलिन्। गाउँका मान्छेहरु मान्छे मार्‍यो भन्दै चिच्याउन आइपुगे। पानी छम्किएपछि ढलेकी युवती उठिन्। उठेपछि रमितलाई चिमोट्दै सोध्न थालिन्, ‘तपाई साँच्चै रमित ढुंगाना हो?’

‘मैले मेरो फिल्म करिअरको सुरुवातमै भेटेको अनौठो फ्यान थिइन् उनी,’ रमित सम्झन्छन्, ‘म साँच्चिकै रमित हो भन्ने थाहा पाएपछि मलाई उनको घर नै लिएर गइन्। परिवारसँग चिनाइन्। खाना खुवाइन्। त्यतिबेला पोस्टकार्डको जमाना थियो। मेरा थुप्रै पोस्टकार्डहरु राखेकी रैछिन्, मलाई दखाएकी थिइन्।’
 
त्यसपछि उनी झापास्थित दमकको नीलकण्ठ हल पुगे। दर्शकको भीड यति थेगिनसक्नु थियो कि, त्यो दिन हलको पर्खाल नै ढल्यो। इँटा लागेर एक युवती घाइतेसम्म भइन्। अनि, संयोग के भयो भने यो घटना घटेको एक दशकपछि जब रमित अमेरिकामा ‘बुद्ध वाज बर्न इन नेपाल’ निर्माणको तयारी गरिरहेका थिए, तिनै घाइते युवती भेटिइन्। ‘दमकमा पर्खाल भत्कदा इँटा लागेर घाइते भएकी युवती त अमेरिकामा पो भेटिइन्,’ रमित खुशी हुँदै सुनाउँछन्, ‘बेनु मैनाली नाम गरेकी ती युवती त ‘त्यतिबेला पर्खाल ढल्दा चोट लाग्ने म नै हुँ’ भन्दै मलाई  भेट्न आइपुगिन्। अनि, म एकाएक नोस्टाल्जिक भएँ।’

अहिले के गर्दैछन् ? 

दाइ अमितसँग रमित

पहिलो फिल्म गर्दैगर्दा धेरैले रमितमाथि गरेको टिप्पणी थियो– आफै पैसा हालेर त जो पनि हिरो बन्छ।’ त्यसैले पनि उनलाई फिल्म क्षेत्रमै स्थापित भएर देखाउनुपर्ने चुनौती थियो। 

जब पहिलो फिल्मले ५१ दिन मनायो, व्यापारिक रुपमा सफल भयो, रमितले देखेको चुनौती पनि चिरिँदै गयो। यति व्यस्त भए कि पछाडि फर्केर हेर्नै परेन। १० वर्षमा करिब १ सय फिल्ममा अभिनय गरे। ‘मुग्लान’, ‘देवरबाबु’, ‘धड्कन’, ‘जीवनदाता’, ‘हिम्मत’जस्ता हिट फिल्म गरे। 

एक दशकको सक्रियतापछि उनको सक्रियता एकाएक कम भयो। अमेरिका हानिए। भन्छन्, ‘पारिवारिक कारणले फिल्ममा कम समय दिइयो तर सुटिङ सेट सधैँ मिस भइरहन्थ्यो। छोराछोरी पढाउनका लागि अमेरिका गएको थिएँ। त्यही सिलसिलामा अमेरिका आउजाउ बढेको हो।’

अमेरिकाबाट फर्किएपछि उनी आफैंले निर्माण गरेको पछिल्लो फिल्म हो, ‘बुद्ध वाज बर्न इन नेपाल।’ लकडाउन अघिमात्रै नयाँ फिल्म ‘राजा साहेब’का लागि प्रमुख भूमिकामा अनुबन्धित भएका थिए उनी। दुई दिन सुटिङ पनि भयो। तर, कोरोना महामारीका कारण त्यसपछि स्थगित छ। 

अहिले उनी एसिड पीडित मुस्कान खातुनको कथामा आधारित रहेर बायोपिक फिल्म निर्माण गर्ने तयारीमा जुटिरहेका छन्। सँगसँगै कोरोना महामारीबाट प्रभावित फिल्म प्राविधिकदेखि मेलम्चीका बाढीपीडितलाई राहत उपलब्ध गराउन पनि उत्तिकै सक्रिय छन्। 

फिल्म अभिनय सुरु गरेको १८ वर्षपछि आज एउटा टापुमा उभिएर विगतलाई समीक्षा गर्दा उनी जीवनका अनुभूतिहरुमा एउटा मिठो पाठशाला पाउँछन्। भन्छन्, ‘यस्तो पाठशाला जहाँ मैले जीवनका आरोह–अवरोह,  सफलता–असफलता र हरेक फिल्मका पात्रहरुबाट केही नै केही सिक्न पाएँ। र, मलाई थाहा छ, यो सिकाइको क्रम बाँचुन्जेल जारी छ।’

हेर्नुस् फिल्म 'माया नमार'

प्रकाशित: Jun 29, 2021| 02:17 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्