शारीरिक रुपमा अपांगता भएका व्यक्ति पैदल हिँड्न सक्दैनन्। तर केही यस्ता व्यक्ति अरुलाई गन्तव्यमा पुर्याउने पेसामा आबद्ध भएर आत्मबल मात्र होइन आम्दानीको स्रोत पनि बढाउन सफल भएका छन्।
काठमाडाैं- ५२ वर्षीय पुनम मिश्र शारीरिक रूपमा अशक्त छन्। पोलियोका कारण उनका खुट्टाले काम गर्दैनन्। आफू हिँड्न नसक्ने उनी अरुलाई भने गन्तव्यमा पुर्याइरहेका छन्। साढे २ वर्षदेखि पठाओको राइडरका रुपमा काम गर्दै आएका उनी यात्रुको सारथि भएका छन्।
दोस्रो लहरको निषेध आदेशका कारण करिब २ महिना घरै बसेका उनी असार ८ गतेदेखि पुरानै काममा फर्किएका छन्। बिहानै उठ्छन्, मौसम हेर्छन्, भारी वर्षा भएको छैन र मौसम सामान्य छ भने घरबाट तीनपांग्रे स्कुटर निकाल्छन्। मिश्र मौसम राम्रो भएको दिन बिहान ८ बजेबाट यात्रु बोक्न थाल्छन्। १२ बजे खाना खाना नख्खुस्थित आफ्नो कोठामा पुग्छन्। खाना खाएर एकछिन आराम गरेपछि फेरि सुरु गरिहाल्छन् यात्रु बोक्न। उनले पठाओबाटै दैनिक पन्ध्र सयसम्म आम्दानी गर्छन्।
पठाओ चलाउँदाको साढे २ वर्षे अवधिमा जीवनका थुप्रै अनुभूति संगाल्न पाएको उनी सुनाउँछन्। ‘कतिबाट अपमानित भएँ, कतिबाट हौसला पाएँ र अझै त्यो भन्दा ठूलो कुराचाहिँ अपांग भए पनि बाहिरी दुनियाँसँग भौतिक रुपमा घुलमिल हुन पाएको छु’, उनले भने। उनलाई अचेल आत्मविश्वास र ऊर्जा बढेको छ। उनले भने, ‘आफू हिँड्न सक्दिनँ त के भयो? दुनियाँलाई गन्तव्यमा पुर्याएकै छु। त्यसैले पनि अचेल आत्मविश्वास र ऊर्जा बढेको छ।’
पठाओमा हाल पुनम र वेदजस्तै करिब ३० जना भन्दा धेरै शारीरिक रुपमा अपांग भएका राइडर छन्।
उनले पठाओबाट पैसाभन्दा ज्यादा आत्माविश्वास र हौसला कमाएका छन्। उनको स्कुटरमा चढ्ने धेरै यात्रुले शारीरिक रुपमा अपांग भए पनि यसरी काम गर्नुभएको रहेछ भन्दै उत्साह थपिदिने गरेका छन्। ‘हामी छौं, परेका बेला सहयोग गर्छौं। आफ्नो कामलाई निरन्तरता दिनुहोला भन्ने पनि भेटिए। त्यसले छुट्टै ऊर्जा थप्ने रहेछ’, उनी भन्छन्।
मिश्र कतिपय यात्रुले गरेको व्यवहार सम्झिनसमेत चाहँदैनन्। ‘कतिले तपाईं त अपांग हुनुहूँदो रहेछ, सरी म जान्नँ भन्ने। कतिले गल्लीगल्लीमा बोलाएर उल्टै गाली गरेर पठाउने यस्ता थुप्रै घटना बेहोरेको छु’, उनले भने, ‘तर, म यस्ता घटनाबाट विचलित भएको छैन। अन्य यात्रुले देखाएको सद्भावले उत्साहित छु।’
पठाओमा राइडरका रुपमा काम थालेको पहिलो दिन नै उनको दाँतमा ढुंगा लागेको रहेछ। त्यो दिन सम्झिँदै मिश्र भन्छन्– जाउलाखेलमा यात्रु लिन गएको थिएँ। तर, ती यात्रु मेरो स्कुटरमा चढ्न मानेनन्। तपाईं त यस्तो अपांग हुनुहुँदोरहेछ। मन साह्रै खिन्न भयो।’ अपमान सहनुपरेपछि उनी निकै निराश भए। ‘सात दिनसम्म त पठाओका लागि घरबाटै निस्किन सकिनँ। यात्रुबाटै यस्तो अपमान भएपछि साह्रै मन दुख्दो रहेछ। केही गर्नै मन लागेन। एक जनाले गलत व्यवहार गर्यो भन्दैमा सबैले गर्दैनन्। फेरि हिम्मत जुटाए र पठाओका लागि हिँडें’, भने।
पठाओले अपांगलाई पनि रोजगारीको अवसर दिएकोमा उनले खुसी व्यक्त गरे। ‘गर्न चाहनेका लागि यो एउटा राम्रो अवसर हो। कमाइ पनि हुने आत्मविश्वास पनि बढ्ने। अचेल यसमै रमाउन थालेको छु’, उनले भने। अहिले उनी प्रत्येक दिन बिहान ७ बजे घरबाट निस्किन्छन्। दिउँसो ११ बजे घर गएर खाना खान्छन्। त्यसपछि कामबाट बेलुका ७–८ बजे घर फर्कन्छन्।
अभावैअभावमा चलेको जीवनमा दुःखैदुःखको बाढी
अभावैअभावमा हुर्किएका मिश्रले बाबुआमा कस्ता छन् भनेर तस्बिरमा समेत देखेका छैनन्। उनी ललितपुर धोबीघाटको एक अनाथ आश्रममा हुर्किएका हुन्। उनले औपचारिक शिक्षा, संस्कार र औषधिउपचार त्यही आश्रमबाट पाएको बताए। मिश्र २४ वर्षको उमेर पुगेपछि आश्रमबाट निस्किए । त्यसपछि सुरु भयो थप दुःखका दिन। जेनतेन गुजारा चलाइरहेका उनले ४० वर्षको उमेरमा विवाह गरेका रहेछन्।
विवाहपछि गुजारा चलाउन उनीहरुले ठेलामा चियादेखि ममसम्म बेचे। तर, महानगरले ठेलागाडामा मःम बेच्न दिएन, सटर खोलेर बस्न उनीहरूसँग पैसा थिएन। दुःख झनै थपिँदै गयो। उनी भन्छन्, ‘महानगरले अत्ति दुःख दिएपछि ऋण काटेर सटर भाडामा लिएर चिया पसल खोल्यौं। अहिले श्रीमतीले चलाइरहेकी छिन्।’
पठाओबाट दैनिक एक हजारदेखि पन्ध्र सयसम्म कमाउने उनको जीवनमा दुःख अभावको छाया पातलो भएको छ। जीवनमा दुःख त छँदै छ। तर हाँस्न जान्नुपर्छ। सानो कुरामा पनि खुसी हुन सक्नुपर्छ। हिम्मत हार्नु हुँदैन। खुसी आफैं मिल्दो रहेछ।
दुःख र अभावसँग जुधेर गुजारा चलाइरहेका उनीहरुले २०६५ सालमा छोरा जन्माए। तर, छोरा जन्मजात सुस्त मनस्थितिका थिए। त्यसमाथि झन् ब्लड क्यान्सर भयो। ‘दुःखीलाई भगवान्ले पनि दुःखै मात्र थपिदिँदा रहेछन्। तीन वर्ष भयो छोरोलाई ब्लड क्यान्सर भएको। अझै छोरोलाई २ वर्षसम्म नियमित औषधि गर्नुपर्छ’, उनले सुनाए।
विभिन्न संघसंस्था र साथीभाइहरूको सहयोग र आफूले मेहनत गरेर कमाएको पैसाले छोराको उपचार गर्न सफल भएको उनी बताउँछन्। उनको छोरा अहिले क्यान्सर मुक्त भएका छन्। तर पनि बाबुआमा छोराको स्वास्थ्यप्रति सचेत छन्। त्यसैले परीक्षण गर्न महिनैपिच्छेअस्पताल पुर्याउँछन्। आफ्नो खुट्टा नचले पनि र छोराको अवस्था खराब भए पनि उनले हिम्मत हारेनन्। अझै अहिले पठाओले अवसर दिएपछि आत्मविश्वास बढेको उनी सुनाउँछन्। सबै साथीभाइले दिएको हौसला र सुझावबमोजिम पठाओ राइडर भएका रहेछन्।
पठाओबाट दैनिक एक हजारदेखि पन्ध्र सयसम्म कमाउने उनको जीवनमा दुःख अभावको छाया पातलो भएको छ। जीवनमा दुःख त छँदै छ। तर हाँस्न जान्नुपर्छ। सानो कुरामा पनि खुसी हुन सक्नुपर्छ। हिम्मत हार्नु हुँदैन। खुसी आफैं मिल्दो रहेछ।
वेदलाई पनि पठाओले दियो ऊर्जा
शारीरिक रुपले अशक्त भए पनि उनीहरु जाँगरिला हुन सक्छन् र सामान्य नागरिकसरह काम गर्न सक्छन् भन्ने अर्का उदाहरण हुन् धादिङका वेदबहादुर तामाङ। तीन पांग्रे सवारीमा यात्रुलाई पठाओबाट सेवा दिँदै आएका तामाङ आफूलाई अरुभन्दा कमजोर सम्झिँदैनन्।
उनी नेपालमा पठाओ सुरु हुँदा कक्षा १२ मा पढ्दै थिए। १२ पास भएपछि साथीहरुको सल्लाहअनुसार उनी पनि पठाओको राइडरका रुपमा आबद्ध भएका हुन्। पठाओमा आबद्ध हुनुभन्दा पहिले उनीहरु अपांगता भएका व्यक्तिका लागि विभिन्न कार्यक्रम गर्थे। ‘अहिले पठाओमा आबद्ध भएपछि थप आत्मविश्वास बढेको छ। केही यात्रुले अपमान गरे पनि निराश भएको छैन’, उनले भने।
पठाओमा हाल पुनम र वेदजस्तै करिब ३० जना भन्दा धेरै शारीरिक रुपमा अपांग भएका राइडर छन्। पठाओमा १ लाखभन्दा धेरै राइडर छन्। जसमध्ये ९२ हजारभन्दा धेरै दुईपांग्रे र करिब ८ हजार चार पांग्रे सवारी छन्। कम्पनीका अनुसार दैनिक ६५ हजार राइड भइरहेको छ भने १३ लाख युजर एप डाउनलोड भएको छ।