सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल–चीन उच्चस्तरीय भ्रमणः नेपालबाट २६ पटक, चीनबाट नौ मात्र

नेपाल–चीन उच्चस्तरीय भ्रमणः नेपालबाट २६ पटक, चीनबाट नौ मात्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण आदानप्रदान शुरु भएका ६२ वर्षको शृंखला असन्तुलित देखिएको छ । सन् १९५६ अर्थात् विसं २०१३ यता नेपालबाट २६ पटक भ्रमण भइसकेको छ भने चीनबाट जम्मा नौ पटक ।

विसं २०१३ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको औपचारिक भ्रमण गरेका थिए । त्यसको चार वर्षपछि ०१७ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा गएका थिए । 

१ पुस ०१७ को ‘कु’ गरेलगत्तै तत्कालीन राजा महेन्द्र चीन भ्रमणमा निस्केका थिए । त्यसपछि पञ्चायतकालमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले सन् १९७२ र १९७८ मा दुई पटक चीन भ्रमण गरे । 

तत्कालीन राजा वीरेन्द्रले सन् १९७३, १९८२, १९८७, १९९३, १९९६ र २००१ मा गरी ६ पटक चीनको राजकीय भ्रमण गरेका थिए । सन् १९९२ र १९९३ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि चीन भ्रमण गरे । त्यसपछि सन् १९९५ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा पनि चीन भ्रमणमा गएका थिए । 

राजगद्दी सम्हालेपछि पूर्वराजा ज्ञानेन्द्रले पनि सन् २००२ र २००५ मा चीनको राजकीय भ्रमण गरे । 

२०६२÷०६३ को परिवर्तन र पहिलो संविधानसभाको निर्वाचनलगत्तै प्रधानमन्त्री बनेका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलम्पिकको समापन समारोहमा भाग लिन बेइजिङ पुगे । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाने परम्परा तोडेका थिए, जसमा भारतीय पक्षबाट तीव्र असन्तुष्टी व्यक्त भएको थियो । 

दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्दा अक्टोबर २०१६ मा भारतको तटीय शहर गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ‘साइड लाइन’ वार्ता गरेका थिए । त्यतिबेला प्रचण्ड, चिनियाँ राष्ट्रपति सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको एकसाथ अनौपचारिक भेटघाटले व्यापक चर्चा पाएको थियो । उनीहरू ब्रिक्स–बिमस्टेक शिखर सम्मेलनमा भाग लिन गोवा पुगेका थिए । मार्च २०१७ मा पनि प्रचण्ड बोआओ फोरममा भाग लिएका थिए । र, त्यतिबेला पनि चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । 

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पनि सन् २००९ मा चीनको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१४ मा दोस्रो चीन–दक्षिण एसिया एक्स्पोजिसन तथा चीन कुन्मिङ आयात–निर्यात कमोडिटिजमा भाग लिएका थिए, चीन पुगेर । इन्डोनेसियाको जाकार्तामा आयोजित ‘कमेमोरेटिभ कन्फरेन्स अफ दी सिक्स्टिथ एनिभर्सरी अफ अफ्रो–एसियन समिट’मा भाग लिन गएका कोइरालाले चिनियाँ राष्ट्रपति सीसँग ‘साइड लाइन’ वार्ता गरेका थिए । 

प्रथम राष्ट्रपति डा. रामवरण यादवले सन् २०१० मा सांघाई एक्स्पोको सामापन समारोह तथा सन् २०१५ मा बोआओ फोरममा सभागिता जनाएका थिए । नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतले नाकाबन्दी गरेको बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेर ऐतिहासिक सम्झौता÷समझदारी गरेका थिए । 

यस्तै, प्रथम उपराष्ट्रपति परमानन्द झा सन् २०१३ मा पहिलो चीन–दक्षिण एसिया एक्स्पो तथा सन् २०१५ मा छैटौं ‘युरो–एसिया फोरम अफ दी एससीओ’मा भाग लिन चीन पुगेका थिए । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले सन् २०१६ मा चौथो चीन–दक्षिण एसिया एक्स्पो र ‘चीन कुन्मिङ आयात–निर्यात एक्स्पोमा भाग लिएका थिए । 

चीनको तर्फबाट सन् १९५७ र १९६० मा तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए । उपप्रधानमन्त्रीको हैसियतमा देङ सियाओ पिङले सन् १९७८ मा नेपाल भ्रमण गरेका थिए । सन् १९८१ मा तत्कालीन प्रधानमन्त्री चाउ जियाङ पनि नेपाल भ्रमणमा आएका थिए । 

नेपाल भ्रमणमा आउने पहिलो चिनियाँ राष्ट्रपति थिए, ली सियानियान । उनले सन् १९८४ मा नेपाल भ्रमण गरेका थिए । सन् १९८९ मा तत्कालीन प्रधानमन्त्री ली पेङ पनि नेपाल भ्रमणमा आए । त्यसको सात वर्षपछि तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरे, सन् १९९६ मा । त्यसयता चिनियाँ राष्ट्रप्रमुख नेपाल भ्रमणमा आएका छैनन् । 

सन् २००१ मा तत्कालीन प्रधानमन्त्री झु रोङ्जीले नेपालको औपचारिक भ्रमण गरे । सन् २०१२ मा आएका प्रधानमन्त्री वेन जियाबाओले भने काठमाडौंमा जम्मा पाँच घण्टा बिताएका थिए । तिब्बती शरणार्थीको आन्दोलन जारी रहेको समयमा चिनियाँ प्रधानमन्त्रीको छोटो भ्रमणलाई अर्थपूर्ण रूपमा लिएको थियो । त्यसयताका ६ वर्षमा चिनियाँ सरकार प्रमुख पनि नेपाल आएका छैनन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।