काठमाडौं– चाबहिल गणेशथानकी सम्झना कार्की चुरा–पोतेको आफ्नो पसलमा बसेर गालामा हत्केला टेकाएर टोलाइरहेकी थिइन्। पसलअगाडि मान्छे देखेपछि हतारमा सम्हालिएर सोधिन्, ‘के खोज्नुभयो दाइ?’
आठ असारदेखि खोलेको पसलमा शुक्रबार (११ असार) सम्म पनि ग्राहक आएका रहेनछन्। भनिन्, ‘बजार त खुल्यो तर अहिलेसम्म एकजना ग्राहक पनि आएका छैनन्।’ सरकारले गत वैशाख १६ देखि जारी गरेको निषेध आदेश खुकुलो बनाएपछि बाटोमा चहलपहल बढेको छ। तर, पसलसम्म पुगेका छैनन् ग्राहक। दिनभर बाटो हेरेर बस्नुपर्ने अवस्था छ।
सरकारले हप्ताको सातै दिन पसल खोल्ने अनुमति दिएको पनि छैन। शुक्रबार कपडा पसल खोल्ने दिन हो। लकडाउन अगाडि नै ल्याएका सामान त्यसै थन्किएका छन्। सटर खोलेपछि ग्राहक आउलान् नि भनेर कुरिबसेका छन् व्यापारी। सडकमा निजी सवारीसाधन बाक्लिए पनि किनमेल गर्ने ग्राहक पसलसम्म नआइसकेको बताए भाँडा पसले केदार श्रेष्ठले।
चाबहिलकै ‘सुनिसा स्टोर’ पनि ८ गतेदेखि खुलेको हो। तर तीन दिनदेखि ग्राहक आइपुगेका छैनन्। त्यसैले पसल कुर्नु र मोबाइलमा टिकटक हेर्नुबाहेक केही काम नभएको स्टोरकी सञ्चालक एलिसा विष्टले सुनाइन्। भनिन्, ‘खाद्यान्नको जस्तो पसल होइन, त्यसैले ग्राहक छैनन्।’
लकडाउनमा पनि खाद्यान्न र किराना पसल त जसोतसो चले। तर लकडाउन खुकुलो हुँदा पनि कस्मेटिक, फेन्सी, जुत्ता, भाँडा, पूजाको सामान पाइने पसलमा भने ग्राहक छैनन्। ‘मन्दिर खुले अलेलि व्यापार हुन्थ्यो,’ सरस्वती श्रेष्ठले भनिन्। कोरोनाको डरका कारण मानिसहरुले घरमा पनि धार्मिक काम नगरेका कारण व्यापार ठप्पै भएको उनले सुनाइन्।
निषेध आदेश खुलेपछि झट्ट हेर्दा जनजीवन सामान्य हुन लागेजस्तो देखिन्छ। सडकमा चाप बढेको छ, पसलहरु खुलेका छन्, फुटपाथमा घुइँचो बढेको छ। तर, पसल सञ्चालकको मन भने उज्यालो छैन। कर तिर्लान् कि भनेर सरकारले निषेध आदेशा खुकुलो पारे पनि व्यापार भने कत्ति पनि नभएको सुनाए एक स्टेसनरी पसलेले। चाबहिलको मालपोत कार्यालय अगाडि उनको स्टेसनरी तथा फोटोकपी पसल छ। तर, ग्राहक फिटिक्कै आएका छैनन्।
सरकारले विभिन्न किसिमका पसल खोल्नका लागि निश्चित दिन र समय तोकेको छ। यसअनुसार स्टेसनरी पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाइन्छ। सीडीओको यस्तो आदेशले दिक्क बनेका बागबजारस्थित जागरण बुक्सका प्रोपाइटर गणेश चिताउरेले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘पुस्तक पसल खोल्ने समय पनि बरु बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म भनेको भए हुन्थ्यो। सिडिओ साबहरुले बुझ्न सकेको खोइ? एकाबिहानै पुस्तक किन्न को आउँछ र!’ चिताउरेकै कुरामा सहमत छन् चाबहिलका स्टेसनरी पसले मनबहादुर बस्नेत। उनले भने, ‘किताब कापी किन्न बिहानै कोही आउँदैनन्। बच्चाहरुले किन्थे तर विद्यालय चलेको छैन।’
बजार गएर किनमेल गर्न सबैभन्दा पहिला पैसा चाहिन्छ। पैसा अर्थात् आम्दानीको बाटाहरु सरकारले गरेको बन्दाबन्दीले ठप्प पारेको छ। जब आम्दानीको स्रोतहरु बन्द हुन्छन्, त्यसपछि आफ्ना आवश्यकताहरु पनि स्वतः घट्ने नै भयो। मानिसले नभई नहुने सामग्री जस्तै– खाद्यान्न, ग्यास आदिलाई प्राथमिकतामा राख्ने अनि कपडा, किताब–कपी, जुत्ताचप्पल, कस्मेटिक, पूजाका सामान, भाँडाकुँडा आदि दोस्रो प्राथमिकतामा पर्ने हुनाले उपभोक्ता पसलसम्म आइनपुगेको अनुमान गर्छन् पसलेहरु।
मनोविद् गोपाल ढकाल पनि यसलाई स्वाभाविक मान्छन्। भन्छन्, ‘दैनिक रोजिरोटीको कुरा मात्र मानिसको पहिलो प्राथमिकतामा पर्छ यस्तो बेला। त्यसैले सोखिन तथा विलासिताका लागि किनमेल गर्न तत्काल उपभोक्ता बजारसम्म पुग्दैनन्।’ महामारीले सिर्जना गरेको अनिश्चितताका कारण मानिसहरु आफूले सञ्चय गरेको रकम अत्यावश्यक कुरामा मात्र खर्च गर्ने बानी पनि बसिसकेको छ।
त्यसो त पहिलेको तुलनामा बजारमा पुगेर किनमेल गर्ने ग्राहक घट्नुको अर्को कारण अनलाइन सेवा लिने परिपाटीको विकास पनि हुन सक्ने व्यापारीहरु बताउँछन्। मनोविद् ढकाल भन्छन्, ‘लकडाउन खुकुलो मात्रै भएको र पूर्णरुपमा खुलिनसकेको हुँदा अनावश्यक रुपमा बजारमा गएर भीडभाड किन गर्ने भन्ने चेत पनि बढेको छ।’
पछिल्लो समय कोरोना संक्रमणको त्रास र त्यसले पारेको मनोवज्ञानिक प्रभावका कारण पनि वस्तु बजारमा समस्या देखिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख ध्रुव घिमिरे बताउँछन्। भन्छन्, ‘खराब मानसिकताका केही व्यापारीले बढी नाफा कमाउने सोचले कृत्रिम अभाव सिर्जना गर्दै उपभोक्तालाई झुक्याउने डरले पनि उपभोक्ता बजारमा नदेखिन सक्छन्।’ समन्वय गर्नुपर्ने सबै क्षेत्र तथा निकायसँग बसेर यो विषयमाथि गम्भीर छलफल भएको बताए घिमिरेले।
विस्तारै खुल्दै गएको बजारलाई केही महिना या एक वर्षसम्म प्रभाव पार्ने बताउँछन् व्यापारीहरु। एक कपडा व्यापारीले भने, ‘व्यापार र किनमेलको चक्करमा स्वास्थ्यलाई धरापमा पार्नु पनि त भएन।’
जनस्वास्थ्यका विज्ञ डा. रवीन्द्र पाण्डे कोरोनाको संक्रमण दर घटे पनि जोखिमबाट मुक्त नभइसकेकाले सचेतना घटाउन नहुनेमा जोड दिन्छन्। यही सचेतना र डरका कारण मानिसहरु बजारसम्म नपुगेको अनुमान उनको छ।
भन्छन्, ‘आफ्नो चिनजान र नजिकका मानिसहरुलाई कोरोना संक्रमणबाट गाह्रो भएको र कतिपयको मृत्युसमेत भएका कारण पनि मानिसहरु बजारसम्म जान डराइरहेका छन्। डराउनेहरुले अरुलाई पनि नजान आग्रह गर्ने गर्छन्। किनकि कोरोना छिटो सर्न सक्ने भय छ। सर्छ पनि छिटो।’ महामारी पहिलोको तुलनामा बढी कडा छ भन्ने आम नागरिकले भित्रैबाट बुझेको हुँदा बजारमा उपभोक्ता नपुगेको बताए डा. पाण्डेले। स्वास्थ्यको हिसाबले यो वर्षैभरि बजार यस्तै मधुरो बत्तीझैं निभ्न खोज्दै चल्ने बताए डा. पाण्डेले।
अब आउन सक्ने तेस्रो लहर अझै डरलाग्दो हुने विज्ञहरुका कुराले थप भयभित छन् मानिस। ७० प्रतिशत जनतालाई खोप दिन सकियो भनेमात्र जोखिम कम हुने बताउँछन् डा. पाण्डे।