बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योगी व्यवसायीले भने- भ्याक्सिन नलगाए मुलुकको अर्थतन्त्र संकटतर्फ जान्छ

उद्योगी व्यवसायीले भने- भ्याक्सिन नलगाए मुलुकको अर्थतन्त्र संकटतर्फ जान्छ

सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन उद्योगी व्यवसायीले आग्रह गरेका छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन उद्योगी व्यवसायीले आग्रह गरेका छन्। उद्योगी व्यवसायीहरुले सरकारले तत्काल बहुसंख्यक नेपालीलाई कोभिड १९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धरासायी हुने चेतावनी दिएका छन्।  

नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा व्यापार विभागको आयोजनामा ‘कोभिड–१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव’ विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रम सहभागी दर्जनौं व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुकको अर्थतन्त्र समस्यमा जाने बताएका हुन्। 

कार्यक्रममा बोल्दै उद्योगपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रत नहुनुले गम्भीर आशंका उत्पन्न गरेको बताए। संकटमा सरकारले अक्सिजननै नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी रहेको समेत बताए। ‘भारतले नोभेम्बरभित्र सम्पूर्ण नागरिकलाई सबै भ्याक्सिन लगाउने घोषणा गरिसकेको तर हामीले कहिले हो टुंगो छैन,’ चौधरीले भने। 

विभिन्न ठाउँमा पत्र पठाएकोमा सरकार रमाइरहेको तर भ्याक्सिन भने आउन नसकेको चौधरीले बताए। बजेटसमेत ‘छुट्याइएको छ, तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु भनेको दुर्भाग्यपूर्ण छ’ चौधरीले भने। दुई तिहाइको सरकार बन्यो भने मुलुकका सबै समस्या समाधान हुन्छ भन्ने भ्रम सबैमा विगतमा रहेको तर अहिले विगतमा सबैमा जनतामा एकप्रकारको भ्रमसमेत वर्तमान सरकारले तोडिदिएको चौधरीले बताए। 

‘७ प्रतिशत मात्रै विकास खर्च गर्ने ९३ प्रतिशत चालू खर्च हुने परिपाटी नबदलेसम्म मुलुकले विकास गर्दैन,’ चौधरीले भने। अहिले सरकारले कतिवटा लाइसेन्स गयो भनेर विदेशी लगानीको हिसाब गरेर बसेको तर विशेष अर्थिक क्षेत्र (सेज) रित्तै हुनुले पनि उद्योग कति फस्टाउनमा सरकारले भूमिका खेलेको भन्ने कुरा प्रष्ट भएको चौधरीले बताए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले खोप ल्याउन नसक्ने अवस्था र जनतालाई नदिएसम्म सहजता दिन सकिएन भने मुलुकको अर्थतन्त्रमा असहज अवस्था आउने बताए। कोभिड १९ को यस्तो समस्यामा समेत निजी क्षेत्रले आपूर्ति व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाले आरोप लगाए। ‘धेरै भन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ घरमा थुनेर समस्या समाधान हुँदैन,’ गोल्छाले भने।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले बेरोजगार भएर बसेको अवस्था रहेको बताए। अब खोप लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकोले सरकार त्यसमा केन्द्रित हुनुनपर्ने शेर्पाले बताए। 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निषेध आदेशकै बीचमा सरकारले असार २५ भित्र कर तिर्नका लागि सूचना निकालेर बस्नु गलत भएको बताए। ‘कोभिड १९ को कारण उद्योग र व्यवसाय क्षेत्रमा कति असर परेको छ भन्ने सरकारले कल्पनासमेत गर्न सक्दैन’, मल्लले भने। सकारले पहिले भ्याक्सिन दिएर मात्रे अन्य कुरा तर्फ लाग्न मल्लले आग्रह गरेका छन्। 

बैंकमा समेत तरलता आइसकेको अवस्थामा सरकारले विकास बजेट खर्चमा केन्द्रित हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। मंसिरदेखि जेठसम्म निर्माणको काम हुने तर सरकारले दुई वर्षदेखि सोही समयमा बन्द गर्दा काम हुन नसकेको सिंहले बताए। ‘पूँजीगत खर्च नहुनुमा सरकारले म्याद थपको काम नगर्दा समस्या आएको छ, काम गर्ने समयमा कम गर्न नपाएपछि म्याद थपको विकल्प हुदैन,’ सिंहले भने। 

कार्यक्रममा बोल्दै नेपाल सिमेन्ट उत्पादक संघ अध्यक्ष धुर्वराज थापाले अहिले ३० प्रतिशत उद्योग बन्द रहेको र ७० प्रतिशत चलेका उद्योग पनि ३० प्रतिशत क्षमतामा मात्रै चलेको बताए। ५ अर्बभन्दा बढी ऋण लिएका उद्योगलाई ५ करोड पुनर्कर्जा दिएकोले लगानीअनुसार कर्जा प्रवाह गर्नुपर्नेमा थापाले जोड दिए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ वरिष्ट उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ ले नेपालको अर्थतन्त्रलाई धरासायी बनाएको बताए। नेपाललले खोप अझै लगाउन नसक्ने अवस्थामा अझै एक वर्ष समस्या आउने देखिएको बताए। ‘राजस्वमा योगदान गर्न उद्योगलाई चलायमान गराउने एक मात्र विकल्प भ्याक्सिन हो,’ अग्रवालले भने।

कांग्रेसले भन्यो- सरकारलाई दबाब दिन्छौँ

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाउँ नभएको बताउँदै यो सरकारको वहिर्गम नै पहिलो सर्त भएको बताए। व्यवसायीले उठाएका माग पूरा गराउन सरकारलाई दबाब दिनेसमेत महतले बताए। ‘सरकार कुरा गर्छ, काम गर्दैन तर बहुमत प्राप्त गरेको दिनदेखि जनताको सेवाभन्दा आफ्नो सेवामा लागेको छ,’ महतले भने। महामारीमा समेत सरकार भ्रष्टाचारमा लाग्नु पाप भएकोसमेत महतले अरोप लगाए। 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय उद्योग व्यापार विभागका सभापति चिनकाजी श्रेष्ठले कांग्रेसले यस्तो छलफल जारी राख्दै मुलुकको अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने बताए। ‘व्यवसायीको माग सम्बोधन गर्न दबाब दिन्छौं,’ श्रेष्ठले भने।

प्रकाशित: Jun 25, 2021| 14:57 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्