काठमाडौं- वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि न्यूरो अस्पताल बाँसबारीमा राखिएको छ ।
अस्पतालका अनुसार श्रद्धाञ्जलीका लागि दिउसो १ बजेसम्म अस्पतालमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उनको काजक्रिया ७ दिनमा सम्पन्न गरिने पनि विज्ञप्तिमा उल्लेख छ । १३ दिने काजक्रियालाई छोट्याएर ७ दिनमै उनको काजक्रिया सकिन लागेको हो ।
पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी करिब ६ महिना पहिले बेलायतमा उपचार गरि स्वदेश फिर्ता भएका थिए ।
बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायोप्सी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्तथैली) मा क्यान्सर प्रमाणित भएको थियो । त्यहाँ माघ ११ मा केमोथेरापी सुरु गरिएको थियो ।
उनी गत वैशाख २५ गते विदेशमा बस्नुभन्दा आफ्नै जन्मभूमिमा बाँकी जीवन बिताउने अठोट गरेपछि नेपाल ल्याइएको थियो । डा. देवकोटाका तीन छोरी र श्रीमती छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४