धनबहादुर तामाङ काठमाडौंमा कालो टेम्पो चलाउथे। १८ वर्षअघि शनिबारका दिन अलि चाँडै टेम्पो थन्काएर उनी बौद्धतिर घुम्न निस्किएका थिए। फर्कदा रातको १० बजिसकेको थियो।
बौद्धबाट फर्कँदै गर्दा चाबहिल मात्र के आइपुगेका थिए, ८-९ वर्ष देखिने एक जना कलिलो उमेरकी बालिका उनको छेउमा ठोक्किइन्। उनी हात जोड्दै बिलौना गरिरहेकी थिइन्, ‘एक रुपैयाँ दिनु न अंकल।’
भोकले तड्पिएकी उनलाई देखेपछि धनबहादुरले खल्ती टकटकाए। दुई रुपैयाँको नोट रहेछ। त्यही थमाइदिए। तैपनि उनी कतै गइनन्, त्यहीँ उभिइरहिन्। धनबहादुरले ‘रातिराति किन हिँडेको, घर जानुपर्दैन’ भन्दै गाली पनि गरे। तैपनि उनले सुनिनन्। भनिरहिन्, ‘मेरो त कोही पनि छैन।’
000
धनबहादुरको आमा सानैमा बितेपछि उनका बुबाले अर्कै बिहे गरेका थिए। ती बालिकाको कथा पनि यस्तै थियो। सुनाइहालिन्, ‘ममी घट्टेकुलोमा झुन्डिएर मर्नुभयो। बुबाले अर्को ममी ल्याउनुभयो। त्यसपछि म एक्ली भएँ।’
धनबहादुरलाई चसक्क बिज्यो। लाग्यो– यति राति सानी बालिकालाई यसरी छाड्नु हुँदैन। त्यसपछि उनले आफ्नै घर लिएर गए। भोलिपल्ट ती बालिका घरबाट त निस्किइन् तर त्यसपछि निरन्तर आउजाउ गर्न थालिन्।
पछिल्लो समय धनबहादुर कहिले साइकलमा चप्पल/जुत्ता बेच्दै हिड्थे त कहिले सन्तोषीको प्रतिभा देखाउन स्कुल–स्कुल पुग्थे। स्कुलमा सन्तोषी विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्थिन्। आवाज सुनेर चकित विद्यार्थीहरूले अलि अलि पैसा उठाएर उनलाई दिन्थे।
‘बुबा’ भनेर बोलाउन थालिन्। धनबहादुरका कोही सन्तान थिएनन्, त्यसैले सोचे, ‘अब यिनलाई आफ्नै घरमा राख्छु धर्मछोरी बनाएर।’त्यसपछि धनबहादुरले सन्तोषीलाई काठमाडौं–७ कालोपुलस्थित गुरुङ बस्तीमा रहेको आफ्नै छाप्रोमा लगेर धर्मपुत्रीका रुपमा हुर्काए।
000
यो कथा हो, सन्तोषी सुब्बाको, जसको शव मंगलबार राति दक्षिणकाली मन्दिरस्थित पिकनिक स्पटमा बिभत्स हत्या गरिएको अवस्थामा भेटियो। सन्तोषी ७० बढी पशुपंक्षीको दुरुस्तै आवाज निकालेर युट्युबमा विगत तीन–चार वर्षयता चर्चित भएकी थिइन्।
पछिल्लो समय धनबहादुर कहिले साइकलमा चप्पल/जुत्ता बेच्दै हिड्थे त कहिले सन्तोषीको प्रतिभा देखाउन स्कुल–स्कुल पुग्थे। स्कुलमा सन्तोषी विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्थिन्। आवाज सुनेर चकित विद्यार्थीहरूले अलि अलि पैसा उठाएर उनलाई दिन्थे।
त्यही कमाइले उनीहरुको जीवन चलिरहेको थियो। ‘मैले छोरी बनाउँछु भनेर उसलाई छोरी बनाएको थिइनँ,’ धनबहादुर भन्छन्, ‘तर, दैवसन्जोगले उनी मेरो छोरी हुन आएकी थिइन्। धेरै बोल्दिनथिन्। बाटोमा कुनै पशुपंक्षी देख्नेबित्तिकै रमाउँथिन्। ध्यान दिएर सुन्थिन्, अनि उनीहरूको आवाज नक्कल गर्न थालिहाल्थिन्। ’
धनबहादुर सन्तोषीलाई पढाउन पनि चाहन्थे। कालोपुलमा गरिबलाई निःशुल्क पढाउने स्कुल थियो, त्यही भर्ना गराएका पनि थिए। तर, उनको रहर रत्तिभर पढाइमा थिएन, खाली पशुपंक्षीमै थियो। बरु भँगेराका बच्चाहरू, कुकुरका छाउराहरूसँग रमाउँथिन्।
यसरी धनबहादुरको स्नेहमा हुर्किएकी सन्तोषी असार ५ गते अचानक घरबाट हराएकी थिइन्। तर, दिउँसो उनैले फोन गरेर धनबहादुरलाई भनेकी थिइन्, ‘म फर्पिङमा छु, भोलि फर्किन्छु है, बुबा।’
यो फोनपछि धनबहादुरले ढुक्कको सास फेरेका थिए। तर, भोलिपल्ट फर्किन्छु भनेको छोरी पर्सि पुग्दासम्म आइनन्। अनि, निकोर्सी अर्थात् असार ८ गते त सन्तोषी होइन, सन्तोषीको मृत्युको खबर पो आयो।
यौन सम्बन्ध राख्न नमान्दा हत्या
निषेध आदेशका बेला कसरी र के कारणले सन्तोषी दक्षिणकालीसम्म पुगिन्, यो अहिले पनि प्रहरीको अनुसन्धानकै पाटो छ। तर, उनको हत्या अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार काठमाडौं-२७ कमलाक्षी इनबहालबाट सुरेश तिमल्सिनालाई पक्राउ गरिसकेको छ।
पेसाले सहचालक सुरेशले के कारण सन्तोषीको हत्या गर्ने अवस्थासम्म पुगे, त्यो जान्न भने असार ६ गतेमा फर्कनुपर्छ।
000
सन्तोषी असार–५ गते फर्पिङस्थित पद्मासम्भव गेस्ट हाउसमा एक्लै बसेकी थिइन्। त्यसको भोलिपल्ट सायद पैसा सकिएछ। उनी दक्षिणकालीस्थित पिकनिक स्पट नजिकै रहेको एक खाजा घरमा पुगेकी थिइन्, सहयोगको आग्रह गर्दै। उनले त्यहाँ खाजाघर सञ्चालकसँग बिलौना गरिन्, ‘मलाई अबर पर्यो, गेस्ट हाउसमा बस्ने पैसा पनि सक्कियो, सहयोग गर्नुस् न।’ त्यही खाजाघरमा उनको बिलौना सुनिरहेका युवक थिए, सुरेश।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रवत्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार सन्तोषीको समस्या सुनेपछि सुरेशले भनेछन्, ‘अन्त ठाउँ त छैन, तर अभर नै परेको हो भने मेरो बसमा बस्ने व्यवस्था मिलाउन सक्छु।’
बलात्कार प्रयासमा सन्तोषीले प्रतिकार गर्दा सुरेशको दाहिने हातमा लागेको चोट अझै छ। एसपी कोइरालाका अनुसार घटनास्थलको प्रकृति हेर्दा प्रतिकारका क्रममा हातपात भएको देखिन्छ।
कम बोल्ने, सोझी स्वभावकी सन्तोषीले उनको प्रस्तावलाई सहजै स्वीकारिन्। त्यसपछि सन्तोषीले त्यही खाजाघरमा खाजा खाइन्। सहचालक सुरेशले भने मदिरा पिउन थाले। त्यसपछि दुवैले खाना खाए। प्रहरीको अनुसन्धानमा करिब तीन–चार घण्टा उनीहरू सोही खाजाघरमा बसेको देखिएको छ।
रात पर्न थालेपछि सुरेशले सन्तोषीलाई खाजाघरबाट बसतर्फ लगे। मदिराले लठ्ठिएका उनले त्यसपछि सन्तोषीलाई यौन सम्बन्धको प्रस्ताव राखे। ‘तर, सन्तोषीले नमानेपछि उनले जर्बजस्ती गर्न खोजेछन्,’ महाशाखाका प्रवक्ता एसपी कोइरालाले भने, ‘त्यसपछि सन्तोषी चिच्याइन्। सुरेश अरुले थाहा पाउलान् भनेर डराए। त्यसपछि सन्तोषीकै सलले बेरेर घाँटीमा कसे। नचिनियोस् भनेर अनुहार नै क्षतविक्षत हुनेगरी ढुंगाले हाने अनि नजिकै रहेको सार्वजनिक शौचालयमा लगेर शवलाई फालेको देखिएको छ। ’
बलात्कार प्रयासमा सन्तोषीले प्रतिकार गर्दा सुरेशको दाहिने हातमा लागेको चोट अझै छ। एसपी कोइरालाका अनुसार घटनास्थलको प्रकृति हेर्दा प्रतिकारका क्रममा हातपात भएको देखिन्छ।
प्रहरीले सन्तोषीको शव अर्धनग्न अवस्थामा फेला पारेको थियो। उनको भित्री वस्त्र घटनास्थलबाट केही पर फेला परेको थियो। ढुंगाको प्रहारबाट बंगारा पनि फुस्किएको अवस्थामा थियो। घाँटीमा लगाएको माला चुड्डिएको थियो। अनि, सामानहरु वरिपरि छरपस्ट अवस्थामा थिए।
प्रहरीका अनुसार सन्तोषीको हत्यापछि सुरेश तत्कालै बुबा बिरामी रहेको कारण देखाउँदै ट्याक्सी चढेर असनमा रहेको डेरा आइपुगेका थिए। सन्तोषीको मोबाइलसमेत उनैले लिएर गएका थिए। प्रहरीले सुरेशसँगै उनले घटनाका बेला लगाएका कपडा, मृतकको मोबाइल, मेमोरी कार्डसमेत जफत गरेको छ।
घटनाको २४ घण्टा नपुग्दै कसरी पक्राउ परे सुरेश
सन्तोषीको हत्या अनुसन्धानमा अपराध महाशाखासँगै महानगरीय प्रहरी परिसरको टोली पनि जुटेको थियो। र, शव भेटिएको २४ घण्टा नपुग्दै प्रहरीले हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न सफल भयो।
घटनास्थलमा भेटिएको गेस्ट हाउसको साबुन र स्थानीय खाजाघर सञ्चालकको सहयोगमा यो अपरेसन चाँडै सफल हुन मद्दत पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन्।
‘घटनाबारे अझै हामी अनुसन्धानकै चरणमा छौँ,’ महाशाखाका एसपी कोइरालाले बताए।
असार ५ गते होटेलमा बस्दा त्यहाँ प्रयोग भएको साबुनले प्रहरीलाई सन्तोषीको सनाखत गर्न सजिलो भयो। त्यसपछि सन्तोषीबारे सोधपुछ गर्दै प्रहरी दक्षिणकाली पिकनिक स्पट आसपासका खाजाघरतिर पुग्यो। जुन खाजाघरमा सन्तोषी पुगेकी थिइन्, त्यहाँबाट सहचालकले लिएर गएको कुरा प्रहरीले पत्ता लगायो।
त्यसपछि दक्षिणकाली आसपासमा रहेका बसका चालक/सहचालक सोध्दै जाँदा निगरानीमा रहेका सुरेशको ठेगाना पत्ता लाग्यो। सन्तोषी हत्या प्रकरणमा यसरी प्रहरी हत्या अभियुक्तसम्म पुग्न सफल भएको देखिन्छ। ‘घटनाबारे अझै हामी अनुसन्धानकै चरणमा छौँ,’ महाशाखाका एसपी कोइरालाले बताए।