शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • खोप खरिदमा अन्योल कायमै, स्वास्थ्य मन्त्रालय भन्छ– तत्काल आउने सम्भावना छैन

खोप खरिदमा अन्योल कायमै, स्वास्थ्य मन्त्रालय भन्छ– तत्काल आउने सम्भावना छैन

नेपालमा कोरोना भाइरसविरुद्धको खोप पहिलो डोज लगाए पनि दोस्रो डोज लगाउन नपाएका मानिसको संख्या करिब १४ लाख छ। पहिलो र दोस्रो गरी जम्मा २५ लाख ५६ हजार १२९  जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 
 |  बिहीबार, असार १०, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, असार १०, २०७८

काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोप पहिलो डोज लगाए पनि दोस्रो डोज लगाउन नपाएका मानिसको संख्या करिब १४ लाख छ। पहिलो र दोस्रो गरी जम्मा २५ लाख ५६ हजार १२९  जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

National life

पहिलो डोज खोप लगाएकामध्ये ७ लाख ४५ हजार ६७० जनाले मात्रै दोस्रो डोज लगाउन पाएका छन्। पहिलो डोज लगाएर दोस्रो डोज खोप लगाउन नपाएकालाई खोप लगाउने मिति घर्किंदै गएपछि चिन्ता थपिएको छ। हालसम्म कोभिसिल्ड लगाउनेको संख्या १८ लाख २८ हजार ४८४ जना, भेरोसेल लगाउनेको संख्या ७ लाख २७ हजार ६४५ जना गरी जम्मा गरी २५ लाख ५६ हजार १२९ जनाले पहिलो डोज लगाएका छन्। 

गत फागुन २३ गतेदेखि कोभिसिल्ड लगाएका झण्डै १४ लाख कोरोनाविरुद्धको दोस्रो डोज लगाउन पाएका छैनन्। जेठ १५ गतेसम्म खोप लगाइसक्नुपर्ने भए पनि नेपालले खोप नपाएपछि उनीहरुले कहिले लगाउने भन्ने कुनै टुंगो छैन। सरकारले हरेक दिनजसो खोप आउने अश्वासन दिइरहेको हुन्छ। स्वास्थ्य मन्त्रालयसँग पनि खोपका लागि आवश्यक पहल भइरहेको छ भन्नेबाहेक कुनै उत्तर छैन। खोप कहिले आउँछ भन्ने कुनै ठोस उत्तर भने दिन सकेको छैन। स्वास्थ्य मन्त्रालयका अधिकारीहरु खोप तत्काल आउने सम्भावना नरहेको आंकलन गर्छन्। 

मन्त्रालयले पहिलो डोज कोभिसिल्ड लगाएका तर दोस्रो डोज लगाउन नपाएकालाई सोही फर्मुलामा बनाइएको ‘एस्ट्राजेनेका’ खोप दिने भनेको थियो। तर त्यो खोप पनि कहिले आउँछ भन्ने टुंगो छैन। स्वास्थ्य मन्त्रालयका प्रवक्ता दोस्रो डोज खोपको व्यवस्था गर्न नसक्दा दबाब बढेको बताउँछन्। उनका अनुसार खोप कहिले आउँछ भन्ने मिति नै तय नभए पनि खोप आउने सकारात्मक संकेत देखिएको छ। 

गत जेठ १४ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई हप्ताभित्र खोप आयात गरी ‘ब्रेकथ्रु’ गर्ने बताएका थिए भने तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ २३ गते मन्त्रालयबाट बिदा हुने क्रममा खोपको सकारात्मक संकेत आउने भन्दै सेरम इन्स्टिच्युट र कोभ्याक्सले छिटै खोप उपलब्ध गराउने बताएका थिए। गत सातामात्रै प्रधानमन्त्री केपी ओलीले सरकारले करिब ४० लाख डोज खोप किन्न लागेको समाचार सार्वजनिक भएको थियो। 

Laxmi sunrise bank
kumari

लगत्तै स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन गर्दै विज्ञप्ति निकालेको थियो। ‘चीनले नेपालसँग ‘ननडिस्क्लोजर एग्रिमेन्ट’ गर्ने सर्त राखेको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘सर्त फलो नभएको र सहमतिविपरीत सूचना सार्वजनिक गरेको भन्दै चीनले असन्तुष्टि जनाएको थियो।’ 

प्रधानमन्त्रीले हिजो बुधबार पनि नेपाल बाल संगठनको केन्द्रीय सभालाई सम्बोधन गर्दै यही वर्ष (सन् २०२१) भित्रमा सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने उद्घोष गरेका छन्। हालै निवर्तमान भएका परराष्ट्रमन्त्री रघुवीर महासेठले पनि एक सञ्चारमाध्यममा चीनसँग र अमेरिकासँग खोप किन्ने प्रक्रिया भइरहेको बताएका थिए। 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार खोप खरिदका लागि चीनले ननडिस्क्लोजर एग्रिमेन्टको सर्त राखेको छ। यस विषयमा स्वास्थ्य मन्त्रालय तथा सरकार मौन बस्नुपर्ने हुन्छ। तर राजनीतिक दलका नेताहरुले खोपका विषयमा आधिकारिक तथ्य नबुझी बोलिदिँदा समस्या हुनेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। 

सरकारद्वारा गठित कोभिड–१९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजक श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले नेपाललाई ३ लाख ४८ हजार अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने भन्दै पत्र पठाइसकेको छ। कोभ्याक्सले जुलाइसम्ममा उक्त मात्रामा खोप आउने जानकारी दिएको छ। 

उनका अनुसार कोभ्याक्सले नेपाललाई दिने अधिकतम मात्राको लागि पत्र पठाएको छ, तर कोभ्याक्सले कति दिने भन्ने एक हप्तामा थाहा हुनेछ।  कोभ्याक्सले यसअघि नै ३ लाख ४८ हजार डोज उपलब्ध गराएकाले दोस्रो डोजका लागि ३ लाख ४८ हजार उपलब्ध गराउन लागेको उनले बताए। 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिकाले पनि  जोनसन एण्ड जोनसनको खोप ६ लाख डोज उपलब्ध गराउने जनाएको छ। तर कहिले दिने भन्ने मिति तोकिएको छैन। यसबाहेक सरकारले नडिस्क्लोजर एग्रिमेन्टमा खोप खरिद गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु चाँडै खोप आउने सम्भावना नरहेको बताउँछन्। कोभिसिल्डबाहेक अन्य खोपको विकल्प हुँदा पनि सरकारको अन्य खोप खरिदका लागि पहल नपुगेको मन्त्रालयकै उच्च अधिकारीको भनाइ छ। मन्त्रालयका अनुसार नेपालले २०२१ भित्रै लक्षित जनसंख्यालाई खोप दिन सम्भव देखिँदैन। किनकि खोपका लागि अग्रिम बुकिङ गर्ने, वैकल्पिक स्रोत खोज्नेबारेमा सरकारले बेवास्ता गरेको छ। 

नेपालमा २०७७ माघ १४ गतेदेखि कोभिडविरुद्धको खोप अभियान सुरु भएको हो। सरकारले चालू आर्थिक वर्षमा खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। तर हालसम्म सरकार अनुदानकै भरमा चलिरहेको छ। हालसम्म भारतले ११ लाख (नेपाली सेनालाई अनुदानमा उपलब्ध गराएको १ लाखसहित) डोज कोभिसिल्ड, चीनले १८ लाख डोज भेरोसेल र कोभ्याक्स फ्यासिलिटीबाट ३ लाख ४८ कोभिसिल्ड खोप अनुदानमा आएको छ। नेपालले जम्मा १० लाख डोज मात्रै खोप खरिद गरेको छ। २ करोड १७ लाख नागरिकलाई खोप लगाउनुपर्ने स्वास्थ्य सेवा विभाग खोप महाशाखाको तथ्यांक छ। तर हालसम्म भेरोसेल र कोभिसिल्ड गरी जम्मा ४२ लाख ४८ हजार खोप नेपाल भित्रिएको छ। 

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख झलक शर्मा गौतम भन्छन्, ‘ननडिस्क्लोजर एग्रिमेन्टका कारण खोप खरिद प्रकृयाबारे अहिल्यै केही भन्न मिल्दैन। सरकारले खोप खरिदमा सक्दो प्रयास गरिरहेको छ।’

प्रकाशित: Jun 24, 2021| 09:48 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।