काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको वैदेशिक व्यापार घाटा साढे १२ खर्ब नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत साउनदेखि जेठसम्म नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ नाघेको हो। उक्त व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.६१ प्रतिशतले बढी हो।
सो अवधिमा विभिन्न मुलुकबाट नेपालमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। सो समयमा नेपालबाट १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ बराबरको वसतु निर्यात भएको छ।
भन्सार विभागले चालु आर्थिक वर्षको सो अवधिमा आयात र निर्यात दुवै बढेको जानकारी दिएको छ। विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात २५.६७ प्रतिशतले बढेको र निर्यात ३७.७८ प्रतिशतले बढेको छ।
विभागका अनुसार ९१ रुपैयाँ ९४ पैसाको वस्तु आयात भइरहेकोमा ८ रुपैयाँ ६ पैसा बराबरको निर्यात भइरहेको छ।