बुधबार, असोज १४, २०८३

कोभिडको असर अब बैंकिङ क्षेत्रमा : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले अहिलेसम्म उद्योग–व्यवसायमा असर गरेको भए पनि अब भने बैंकिङ क्षेत्रमा पनि गर्न सक्ने बताएका छन्। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले अहिलेसम्म उद्योग–व्यवसायमा असर गरेको भए पनि अब भने बैंकिङ क्षेत्रमा पनि गर्न सक्ने बताएका छन्। 

राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिबारेको एक छलफलमा बुधबार उनले भने, ‘अब कोभिडको असर बैंकिङ क्षेत्रतर्फ सर्न सक्ने भएकोले बैंक तथा वित्तीय संस्थाहरुलाई कसरी जोगाउने भन्ने विषयमा राष्ट्र बैंकले सोचिरहेको छ।’ गत वर्ष बैंकहरुले अरु क्षेत्रलाई दिएको सुविधाको प्रभाव यो साल बैंक तथा वित्तीय क्षेत्रमा सरेको उनको भनाइ थियो। उनले आगामी मौद्रिक नीतिले वित्तीय स्थायित्व र मुद्रास्फीतिलाई केन्द्रमा राखेर केही नयाँ प्रडक्ट ल्याउने सोचमा राष्ट्र बैंक रहेको सुनाए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चालू आथिक वर्षका सहुलियतका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत पुनर्कर्जाको ब्याजदर तीन प्रतिशतमा झार्नुपर्ने र स्प्रेडदर ३ प्रतिशत हुनुपर्ने माग गरे।

अर्थशास्त्री विश्व गौचनले बैंकिङ क्षेत्रको आकार जीडीपीको अनुपातमा धेरै भएकाले वित्तीय क्षेत्रमा जोखिम बढेको धारणा राखे। 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बजारमा तरलता अभाव हुँदै गएको भन्दै बैंकहरु कर्जा प्रवाहको लागि असक्षम बन्दै गएको जानकारी दिए। उनले भने, ‘बैंकहरुको सिसिडि रेसियो औसतमा ७९ प्रतिशत पुगिसकेको छ, जसले गर्दा बजारमा थप कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन। यसतर्फ राष्ट्र बैंकले ध्यान दिई अन्तरबैंक कर्जाको समय थपेर तीन महिनाको बनाउनुपर्छ।’ हाल यस्तो कर्जाको अवधि एक हप्ताको लागिमात्र छ।
 

प्रकाशित: Jun 23, 2021| 10:08 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्