भारतीय र नेपाली समाज यस्तो समाज हो, जहाँ छोरी मान्छेले राति कुनै पार्टीमा जानलाई घरमा अनुमति मागिन् भने उनलाई उल्टै जवाफ फर्काइन्छ, ‘छोरी भएर राति हिड्नु हुँदैन।’ पितृसत्तात्मक समाजले छोरीका लागि कति बजेसम्म बाहिर हिँड्नेदेखि कति इन्चसम्म कपडा लगाउने, सबैको आफूअनुकूल सीमा तोकिदिएको छ।
अझ वन त यस्तो क्षेत्र हो, जहाँ महिलाको सक्रियता कमै कल्पना गरिन्छ। महिलाहरु पनि जंगलमा गएर काम गर्न सक्छन्, वन्यजन्तुको संरक्षणमा खट्न सक्छन्, महिलाको यस्तो साहसमा हाम्रो समाजले विरलै विश्वास गर्छ।
वन अधिकारी धेरै हदसम्म पुरुषको बाहुल्यता रहेको पेशा हो तर सत्य के पनि हो भने यो पुरुषप्रधान पेशाको संसारमा थुप्रै महिला वन अधिकृतहरु पनि होमिएका छन्, जो आफ्नो परिवारभन्दा टाढा, कुनै एक जंगलमा ‘पोस्टिङ’ लिएर बसेका छन्, अनि रातदिन नभनी पुरुषसरह उसैगरी गस्तीमा खटेका छन्।
मसालेदार एक्सन र धुमधडाकामा विश्वास गर्ने बलिउड प्रवृत्तिबाट यो फिल्म पूर्णतः मुक्त देखिन्छ। सिनेमाले संवादमा कम, दृश्यमा ज्यादा विश्वास गर्छ। त्यसो त ‘न्यूटन’ निर्देशक मुसरकरको त यो विशेषता नै भइसक्यो। उनका पात्रहरुले धेरै बोल्दैनन् तर नबोलेरै धेरै कुरा भन्छन्।
अभिनेत्री विद्या बालनको पछिल्लो फिल्म ‘शेरनी’ समाजको यही यथार्थको चित्रण हो। यो फिल्मले प्रमुख पात्र विद्या भिन्सेन्ट (विद्या बालन) को आँखाबाट मानव र वन्यजन्तुबीचको द्वन्द्वको एउटा यथार्थ कथा भन्छ।
हालै डिजिटल रिलिज भएको यो सिनेमाको सुरुवात विजाशपुर वन प्रभागबाट सुरु हुन्छ, जहाँ भर्खरै नयाँ विभागीय वन अधिकारी (डिएफओ)का रुपमा सरुवा भएर आइपुगेकी छिन्, विद्या भिन्सेन्ट (विद्या बालन)। ९ वर्षसम्म पनि बढुवा नहुँदा, तलब नबढ्दा यो कामबाट उनी खासै खुशी छैनन्। मुम्बईमा रहेका पतिसँग भिडियो कलबाटै भए पनि जागिर छाड्ने इच्छा व्यक्त गर्छिन्। तर, पतिको कर्पोरेट जागिरको स्थिति पनि कमजोर हुन्छ, त्यसैले उनी यो सरकारी जागिर नछाड्न सुझाव दिन्छन्।
विद्या जुन जंगलमा पुगेकी छिन्, त्यहाँ बाघले स्थानीयलाई आतंकित बनाइरहेको हुन्छ। विद्याकै कार्यकालमा एकपछि अर्को गर्दै जंगलमा बाख्रा र भैँसी चराउन गएका वृद्धवृद्धालाई बाघले आक्रमण गर्छ। त्यसपछि स्थानीयमा चिन्ता र आक्रोशको ग्राफ दिनहुँ बढिरहेको हुन्छ। उनीहरुसँग आफ्नो पशु चराउनलाई त्यो जंगलमा जानुको अर्को विकल्प पनि हुँदैन।
त्यसपछि वन विभागले क्यामेरा ट्रयापिङमार्फत बाघको अध्ययन थाल्छ। स्थानीयलाई आतंकित बनाउने बाघ टि टुवेल्भ प्रजातिको रहेको खुल्छ। बाघको शिकारका लागि आफूलाई वन्यजन्तु संरक्षक दाबी गर्ने शिकारी पिन्टु (शरत सक्सेना) पनि त्यहाँ आइपुगेका हुन्छन्। तर, विद्या र उनका केही सहकर्मीहरु बाघलाई मार्न चाहँदैनन्, सुरक्षितसाथ राष्ट्रिय निकुञ्जसम्म पुर्याउन चाहन्छन्। तर, के त्यसमा उनीहरु सफल हुन्छन् त? यसअघि ‘न्यूटन’ निर्देशन गरेर प्रशंसा बटुलेका निर्देशक अमित भी मुसरकरले यो सिनेमामा यही कथालाई यथार्थपरक ढंगले चित्रण गर्न खोजेका छन्।
मसालेदार एक्सन र धुमधडाकामा विश्वास गर्ने बलिउड प्रवृत्तिबाट यो फिल्म पूर्णतः मुक्त देखिन्छ। सिनेमाले संवादमा कम, दृश्यमा ज्यादा विश्वास गर्छ। त्यसो त ‘न्यूटन’ निर्देशक मुसरकरको त यो विशेषता नै भइसक्यो। उनका पात्रहरुले धेरै बोल्दैनन् तर नबोलेरै धेरै कुरा भन्छन्।
दर्शकले झट्ट देख्ने ‘शेरनी’ त जंगलभित्र हुन्छ तर निर्देशकले देखाउन खोजेको ‘शेरनी’ सायद विद्या पनि हुन्। जो शारीरिक बल प्रदर्शनबिनै पितृसत्तात्मक समाजसँग बाघ बनेर लडिरहेकी हुन्छिन्।
भारतको मध्यप्रदेशमा खिचिएको यो सिनेमाले वन्यजन्तुको नाममा हुने राजनीति बडो गज्जबसँग देखाएको छ। जंगलको छेउमा रहेको आदिवासी गाउँका वासिन्दाहरु बाघबाट त्रसित हुन्छन्, आतंकित हुन्छन्, तर त्यहाँका राजनीतिज्ञहरुले त्यही बाघलाई आफ्नो चुनावको प्रमुख एजेन्डा बनाउँछन्। अनि उनीहरु भाषण गर्छन्, ‘म यो मान्छेमारा बाघबाट तपाईंहरुलाई बचाउँछु, अनि म नै तपाईंहरुको पशुका लागि घरघरमा चारोको व्यवस्था गर्छु।’ यतिसम्म कि उनीहरु बाघलाई मार्न शिकारीको प्रयोगसम्म गर्छन्। यसरी भारतमा वन्यजन्तुको नाममा हुने फोहोरी राजनीतिलाई यो फिल्मले यथार्थपरक चित्रण गरेको छ। तर, नेपालको हकमा पनि यो उत्तिकै समसमायिक लाग्छ।
‘यदि तपाईं सयपल्ट यो जंगलबाट गुज्रिँदा एकपल्ट बाघलाई देख्न सक्नुहुन्छ भने त्यो बाघले तपाईंलाई ९९ पल्ट देखेको हुन्छ,’ फिल्मको सुरुवाततिर एक वन अधिकारीले बोल्ने यो संवाद निकै अर्थपूर्ण लाग्छ।
यो फिल्ममा विद्याले अधिकांश बलिउड फिल्ममा जस्तै भिलेनलाई उडीउडी किक हान्दिनन्, तैपनि उनी फिल्ममा ‘शेरनी’ लाग्छिन्। दर्शकले झट्ट देख्ने ‘शेरनी’ त जंगलभित्र हुन्छ तर निर्देशकले देखाउन खोजेको ‘शेरनी’ सायद विद्या पनि हुन्। जो शारीरिक बल प्रदर्शनबिनै पितृसत्तात्मक समाजसँग बाघ बनेर लडिरहेकी हुन्छिन्।
तर, के अधिकृत तहमा काम गरिरहेका महिलाहरुका लागि यो समाज साँच्चै उदार छ त? फिल्मका केही दृश्यहरुले त्यस्तो महसुस गराउँदैन। जस्तो कि, एक दृश्यमा विद्या बाघको आक्रमणमा स्थानीयको मृत्यु भएको थाहा पाएपछि घटनास्थलमा गएकी हुन्छिन्। स्थानीय आक्रोशित भएर शव छुन दिँदैनन्। त्यतिबेलै पूर्व सांसदसमेत भइसकेको एक पात्र विद्याको सामुन्ने बोल्छ, ‘यो जिके सिंह, वंशलजस्ता मान्छेहरु हरेक ठाउँमा आफैं अग्रसर भइरहेका हुन्छन्। तर, जब समस्या आउँछ, त्यतिबेला एउटा लेडी अफिसरलाई यहाँ पठाइदिन्छन्।’
फिल्ममा वंशल विद्याका ‘डरपोक हाकिम’ हुन् भने जिके सिंह स्थानीय सांसद। यति गम्भिर घटना हुँदा पुरुष नेतृत्व घटनास्थलमा नआउनु तर एउटा लेडी अफिसर सहभागी हुनुलाई ती सांसद गर्वको कुरा ठान्दैनन्, बरु निकम्मा र मजाकको विषय ठान्छन्। र, यो पुरुषप्रधान समाजले निर्माण गरिदिएकै भाष्य न हो।
त्यस्तै अर्को एक दृश्यमा विद्याको परिवार उनलाई भेट्न आएको हुन्छ। राति डिनर गरिरहेकै बेला एक्कासि आकस्मिक कल आउँछ। ड्युटीका लागि निस्कनुपर्ने हुन्छ। त्यतिबेला विद्याकी सासुआमा, श्रीमान् र आमा सबैले ‘यति राति’ भन्दै चिन्ता प्रकट गर्छन्। र, यो पुरुषप्रधान समाजले नै महिला हकमा सधैँ गर्दै आइरहेको चिन्ताजस्तो लाग्छ।
सिनेमामा बिरालोको प्रयोग प्रतिकात्मक छ। सिनेमाको सुरुवातमा जसरी विद्या काम छाड्ने मनस्थितिमा पुगेकी छिन्, त्यतिबेला उनी घरमा रहेको बिरालोलाई कोठाभित्र पसेको देख्न रुचाउँदिनन्। तर, जब कथा बढ्दै जान्छ, जब बाघको संरक्षणप्रति विद्याको लगाव बढ्दै जान्छ, घरमा बिरालोप्रतिको उनको प्रेम पनि उसैगरी बढिरहेको हुन्छ। घरमा बिरोलासँगको सम्बन्धलाई निर्देशकले सिनेमामा बाघसँगको सम्बन्धसँग जोडेर देखाउन खोजेका छन्।
सिनेमाले वन्यजन्तु संरक्षणलाई मानव जीविकोपार्जनसँग पनि सुन्दर ढंगले जोड्न खोजेको छ। विद्याको पहलमा जब बाघबाट आतंकित स्थानीय महिलाहरुलाई वन कार्यलयले सिलाईकटाई तालिम दिन्छ, आत्मनिर्भरताका अन्य उपायहरु सिर्जना गर्दिन्छ, त्यो पनि रचनात्मक छ। तर, बाघको खोजी र संरक्षणमा बढी जुट्दै गर्दा यो सिनेमाले स्थानीयको पशु चरणको समस्यालाई भने बीचमै छाडिदिएझै लाग्छ।
अधिकांश बलिउड फिल्ममा जस्तै यो सिनेमाको क्लाइमेक्समा अनुमानभन्दा बाहिर केही अनौठो त हुँदैन तर सिनेमा सकिएपछि यसले दर्शकलाई जे छाडेर जान्छ, त्यसले केही सोच्न भने बाध्य बनाइदिन्छ। र, यो नै यो सिनेमाको सौन्दर्य हो, शक्ति हो।
यो सिनेमाको छायांकन र पृष्ठभूमिमा बज्ने आवाजले साँच्चिकै हामीलाई जंगलमा पुगेको आभाष गराउँछ। पात्रको भाव, जंगलका रुख, हल्लिरहेका पातहरुलाई क्यामेराले गज्जबसँग पछ्याएको छ। त्योसँगै सुनिने बाख्राहरुको चिच्चाहट, चराचुरुङ्गीको आवाजले बाघको आगमनमात्रै संकेत गर्दैन, सिनेमामा ‘थ्रिल’ पनि सिर्जना गरिदिन्छ।
सिनेमामा विद्याको अभिनय साँच्चै सानदार र स्वाभाविक छ। सिनेमाको नाम ‘शेरनी’ होला तर उनी कहीँकतै चिच्याउँदिनन्, कसैसँग झम्टिन्नन्, पितृसत्तात्मक समाजमा एउटा महिला अधिकृतले जस्तो जीवन बाँच्नुपर्छ, जस्तो परिस्थितिको सामना गर्नुपर्छ, त्यस्तै देखिएकी छिन्।
सिनेमाको अन्त्यमा आफ्नाहरुलाई आक्रमण गर्ने बाघका दुई बच्चालाई जोगाउनका निम्ति स्थानीयले जुन भूमिका निर्वाह गर्छन्, त्यसले ‘वन्यजन्तुको विनाश होइन, संरक्षण आवश्यक छ’ भन्ने सन्देश नै दिन्छ। त्यसैले त फिल्मको एक दृश्यमा एक वन अधिकारीले बोल्ने संवाद छ, ‘बाघ छ त जंगल छ, जंगल छ त वर्षा छ, वर्षा छ त पानी छ, र पानी छ त हामी छौं।’
अधिकांश बलिउड फिल्ममा जस्तै यो सिनेमाको क्लाइमेक्समा अनुमानभन्दा बाहिर केही अनौठो त हुँदैन तर सिनेमा सकिएपछि यसले दर्शकलाई जे छाडेर जान्छ, त्यसले केही सोच्न भने बाध्य बनाइदिन्छ। र, यो नै यो सिनेमाको सौन्दर्य हो, शक्ति हो।