काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बोर्ड अध्यक्ष ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको र उनीविरुद्ध कारबाहीको गर्नुपर्ने माग राख्दै आयोगमा उजुरी परेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बोर्ड अध्यक्ष ढुंगानाविरुद्ध भ्रष्टाचार आरोपमा उजुरी परेको पुष्टि गरे। उजुरीकर्ताको नाम/ठेगाना गोप्य राखिएको उक्त उजुरी असार २ गते आयोगमा दर्ता भएको हो।
दर्ता नम्बर सी–०३५०७४/२०७८–३–२ रहेको सो उजुरीमा बोर्ड अध्यक्षले गत असार १ गते ५१ वटा कम्पनीको सेयरमा चलखेल भएको र ती कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने भन्दै विज्ञप्ति निकाल्दा पनि मोटो रकम लिएको दाबी गरिएको छ। ढुंगानाले जारी गरेको उक्त 'चलखेल सूची' सार्वजनिक गर्दा ठूला सेयर खेलाडीबाट ३५ करोड घुस लिएको दावी गरिएको छ।
त्यस्तै बैंकलाई ब्रोकर लाइसेन्स रोक्न प्रत्येक ब्रोकरबाट प्रतिब्रोकर २ करोड गरी एक अर्ब रुपैयाँ र अजोड इन्स्योरेन्सको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) लुकाउनका लागि ३ करोड रुपैयाँ घुस लिएको समेत उजुरीमा उल्लेख छ।