आइतबार, वैशाख ३०, २०८१

बाढीले टुटायो ‘सप्लाई चेन’, मनाङमा खाद्य संकटको खतरा

तीनदिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले सडक सञ्जाल टुटाइदिएपछि हिमालपारिको जिल्ला मनाङमा खाद्यान्न संकट उत्पन्न हुने खतरा बढेको छ।
 |  शनिबार, असार ५, २०७८

विभु भुसाल

विभु भुसाल

शनिबार, असार ५, २०७८

पोखरा- तीनदिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले सडक सञ्जाल टुटाइदिएपछि हिमालपारिको जिल्ला मनाङमा खाद्यान्न संकट उत्पन्न हुने खतरा बढेको छ।

triton college

बाढीले मनाङको सदरमुकाम पुग्ने बाटोमा पर्ने खोलाका ६ वटा पुल बगाएको छ, जसकारण स्थलमार्गबाट हुने आवतजावत ठप्प छ। 

मनाङ प्रवेश गर्ने एकमात्र चल्तीको बाटो लमजुङ् सदरमुकाम बेँसीसहरबाट हो। बाढी र पहिरोका कारण सो बाटो ठाउँठाउँमा अवरोध भएको छ। प्राविधिकहरूले सबै पुल बन्न एक वर्ष समय लाग्ने बताएका छन्। 

कोरोनाका कारण लामो समयदेखि बन्द भएका कारण बजारमा स्टक राखिएको सामान पनि सकिएको छ। होटलहरू बाढीले बगाएको छ। 

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले आपूर्ति व्यवस्था टुटिरहने हो भने केही समयमै खाद्य संकट उत्पन्न हुने बताए। तत्काललाई खानेकुुराको समस्या नभए पनि निकट भविष्यमा समस्या हुने उनको भनाइ छ। 

corrent noodles
Metro Mart
चामेबजारस्थित मर्स्याङ्दी नदीको पुलको सतहमा बाढी।

‘अहिले खाद्य संस्थानको गोदाममा ४०० क्विन्टल चामल र ६० क्विन्टल नुन मात्रै छ, तत्काललाई कसैलाई समस्या परे आवश्यक व्यवस्था मिलाइन्छ,’ उनले नेपाल समयसँग भने, ‘यस्तै रहने हो भने यसले धेरै समय धान्न सक्दैन।’ 

अहिले जिल्ला कारागारमा दैनिक चार सय जना बाढीपीडितले खाना खाइरहेका छन्। व्यक्तिगत स्टक सकिएपछि खाद्य संस्थानको गोदाम खोल्ने जिल्ला प्रशासनको योजना छ। 

सदरमुकाम चामे बजारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका अधिकारीहरू मात्रै बसेका छन्। अरू सबै सुरक्षित स्थानमा सरिसकेको प्रजिअ लामिछानेले बताए। 

राहतको पर्खाइमा मनाङवासी।

तल्ख्यु भन्ने स्थानमा १५० जना, छार्ताङ्‍मा ८०, च्याताङ्‍मा २० जना भन्दा बढी पीडितहरू अस्थायी शिविरमा बसेका छन्। लामिछानेका अनुसार जिल्लाभर एक हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन्। उनले बाढीको त्रासका कारण घर क्षति नभएकाहरू पनि अस्थायी शिविरमा बसेको जानकारी दिए। 

लामिछानेले जिल्लाका जनप्रतिनिधिहरूले केही चाउचाउ र चिउरा बाँडेको भए पनि जिल्लाभरलाई खाद्यान्न वितरणमा समस्या देखिएको बताए। सदरमुकाम चामेमा अहिले १५ सय जना छन्। अन्य जिल्लाका अन्य गाउँहरूमा कति बसोबास गर्छन् भन्ने यकिन छैन। जनगणनाअनुसार मनाङको कुल जनसंख्या ६ हजार हो। अहिले बढेर ७ हजार पुगेको अनुमान गरिएको छ। 

तर, अधिकांश मनाङीहरू काठमाडौंमा बसोबास गर्ने भएकाले जिल्लाभर अहिले कति बसोबास गरिरहेका छन् भन्ने तथ्य, जानकारी जिल्ला प्रशासन कार्यालयमा पनि छैन। 

राहत लिएर बाढी प्रभावित क्षेत्रमा जाँदै सुरक्षाकर्मी।

बर्खा भए पनि विगतमा यस्तो विपद् नआएका कारण निरन्तर ढुवानी होला भन्ने आशाले मनाङका व्यापारीहरूले धेरै सामान स्टक गरेनन्। कोरोना संक्रमण फैलिन नदिन गरिएको बन्दका कारण लामो समयदेखि त्यहाँ सामान ढुवानी हुन पनि सकेन। 

अर्कोतर्फ मनाङमा आफ्नै उत्पादन नहुने भएकाले खाद्यान्नका लागि तलकै भर पर्नुपर्ने अवस्था छ। 

चामे गाउँपालिका अध्यक्ष चन्द्र घलेले पनि सम्भावित खाद्य संकटका लागि तीन महिनालाई पुग्ने खाद्यान्न हवाई ढुवानी गर्न माग गरेका छन्। अहिले बाढीले बगाउनबाट बचेको पसलको स्टकले धानिरहेको बताउँदै उनले मनाङको मुख्य समस्या खाद्यान्नकै रहेको बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म बाढीले मर्स्याङ्दी किनारमा रहेका ५३ वटा घर बगाइसकेको छ। केही घरहरू बस्नै नसक्ने गरी क्षति भएका छन्। मनाङका अधिकांश वस्ती मस्र्याङ्दी नदीको किनारमा भएका कारण धेरै क्षति भएको हो। 

मनाङका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालासँग छलफल गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल।

मनाङका पीडितलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले तत्कालका लागि पाँच करोडको कोष खडा गरेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए। 

प्रदेश सरकारले अहिलेसम्म मनाङका १५० भन्दा बढीको उद्धार गरिसकेको जनाएको छ। 

प्रजिअ लामिछानेका अनुसार मनाङमा अहिले पनि निरन्तर झरी परिरहेको छ। निरन्तर वर्षाका कारण चामेको ठाडो खोलो थुनिएको छ। थुनिएको खोला स्थानीय बासिन्दा, सेना र प्रहरीले खुलाउने प्रयास गरिरहेका छन्। 

प्रकाशित: Jun 19, 2021| 04:43 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।