‘बहिनी एउटा अक्सिजन खोजिदिनु न।’
हरेक दिनहुँजसो फोन आइरहन्छ कञ्चनपुरकी लक्ष्मी श्रेष्ठलाई। कतिपयले उनलाई भेटेरै सहयोग मागिरहेका हुन्छन्। २८ वर्षीया श्रेष्ठ कञ्चनपुरको एक नम्बर निर्वाचन क्षेत्रमा कोरोना भाइरससँग जुधिरहेका स्थानीयलाई सहयोग गर्न ‘सँगसँगै’ अभियान लिएर हिँडेकी छन्।
काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी श्रेष्ठ गत वर्षको चैतमा भएको पत्रकार महासंघको चुनावका लागि भोट हाल्न उनी गृह जिल्ला कञ्चनपुर पुगेकी थिइन्। तर, दोहोरिएको बन्दाबन्दीमा उनी कञ्चनपुरै रहिन्। अघिल्लो लकडाउन कडा भए पनि स्थिति त्यति भयावह थिएन तर २०७८ वैशाखबाट भने देशभर कोरोना भाइरसको महामारी उत्कर्षमा पुग्यो। संक्रमित बिरामी ह्वात्तै बढेसँगै एम्बुलेन्स, अक्सिजन, आईसीयू, शय्या, भेन्टिलेटर अभावमा मानिसहरू मृत्युसँग जुध्न विवश भए भने कतिले ज्यान गुमाए।
उपत्यकाका विभिन्न अस्पतालमा समेत अक्सिजन, अस्पताल, डाक्टर, बेड आईसीयू पाउन हाहाकार थियो भने गाउँगाउँका संक्रमित बिरामीले भन्नेबित्तिकै कसरी स्वास्थ्य सेवा पाए होलान्? पाएनन्। यस्तै पीडित थिए कञ्चनपुरको दक्षिणी भेगका वासिन्दा।
अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य, सामाजिक संघसंस्थाको बढी सक्रियता कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा केन्द्रित भइरहेका बेला दक्षिणी क्षेत्रको बेलौरीमा ‘सँगसँगै’ अभियान लिएर देखा परिन् उनी।
‘गाउँपालिका र नगरपालिकाले गरेको काम पर्याप्त भएन। त्यसपछि हामी युवाले मिलेर केही गर्नुपर्छ भनेर सँगसँगै अभियान थाल्यौं।’
वैशाख १६ गतेदेखि जारी निषेध आदेशको १० दिनपछि अर्थात् वैशाख २६ गते उनले ‘सँगसँगै’ अभियान थालिन्। उनले भनिन्, ‘काठमाडौंबाट आएको समयमा घरबाट काम गर्दागर्दै केही सामाजिक काम पनि गरौं भन्ने सोचेर सँगसँगै अभियान थालें।’
कोरोना संक्रमण उत्कर्षमा पुगिरहेको थियो। बेड, अक्सिजन, स्वास्थ्य सामग्री अभावमा जनताले पाएको दुःख मिडियामा आयो। संघ, प्रदेश, स्थानीय सरकारले केही नगरेको गुनासो जनतासँग थियो। अलिअलि सेवा र सुविधा जिल्ला सदरमुकाममा सीमित हुन थाले। तर, गाउँगाउँबाट कोरोना संक्रमित बिरामीले अस्पतालसम्म पुग्न मुस्किल थियो। मुस्किलले अस्पताल पुगे पनि अक्सिजन र बेडको अभावमा अस्पतालले भर्ना गरिरहेको थिएन। कि भेन्टिलेटर र आईसीयू पर्खिएर बिरामी मृत्युसँग जुध्नुपर्थ्यो।
सँगसँगै अभियानकी संयोजक श्रेष्ठ भन्छिन्, ‘गाउँपालिका र नगरपालिकाले गरेको काम पर्याप्त भएन। त्यसपछि हामी युवाले मिलेर केही गर्नुपर्छ भनेर सँगसँगै अभियान थाल्यौं।’
मनमा सामाजिक सेवा गर्ने सोच आयो भने पक्कै सबैको सहयोग पाइन्छ नै। चौतर्फी बन्दको मारमा परेका बेला श्रेष्ठले सँगसँगै अभियान लिएर सामाजिक कार्य गर्ने र कोरोना संक्रमितलाई सघाउने सोच बनाएर घामझैं झुल्किन पुगिन्।
कोरोनासँग आफैं जोगिनुपर्छ। तब अरूलाई जोगाउन सकिनेछ। तर, स्थिति नियन्त्रणभन्दा बाहिर गइरहेका अवस्थामा सहयोग जुटाउन हिँडेकालाई कोरोना नसर्ला भन्न सकिन्थेन। यस्तो विषम् परिस्थितसँग जुधेर कोरोना संक्रमितलाई सहयोग गर्न हिँड्न आफैंमा चुनौती थियो।
जोखिम मोलेर भए पनि सेवा गर्ने चाहना थियो। जसका कारण जन्मिएको थियो सँगसँगै अभियान। उनले भनिन्, ‘संक्रमित बिरामीको हालत देखेपछि त्यसै बस्न सकिनँ।’
देशभरि नै बन्दाबन्दीको प्रभाव परेको बेला अचानक अभियान भनेर गाउँसहर डुल्न त्यति सम्भव छैन नै। तर, लक्ष्मीलाई पहिलो समर्थन घरबाटै मिल्यो। जोखिम मोलेर लक्ष्मीले गर्न थालेको सामाजिक कार्यसँग परिवारको सहमति भएपछि उनले बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाबाट अभियान सुरु गरिन्। जसमा बेलौरीका मीरा श्रेष्ठ, अनुपमा महतरा, पुनर्वासका हिमेश थापा, पत्रकार रुपेश विक र बेलडाँडी गाउँपालिकाका भूपेन्द्र रावत फिल्डमा उत्रिएर लक्ष्मीको होस्टेमा हैंसे गरिदिए।
कुनै पनि सहयोग गर्न स्थानीय संघसंस्थासँग समन्वय गर्नु नै पर्छ। यस्तो जोखिम समयमा उनले सबैसँग मिलेर जाने सोच बनाइन्। सुरुवातीमा दुई नगरपालिका र दुई गाउँपालिकालाई लक्षित गरेर आफू लगायत आफन्त र चिनेजानेकासँग सहयोग संकलन कोष जुटाउँदै अक्सिजनको बन्दोबस्त मिलाउन थालिन्। तर, अक्सिजन पाउन पहुँचवालालाई त गाह्रो थियो भने सर्वसाधारणले धुरुक्कै रुनुपर्थ्यो। तर, रोएर कहाँ पाइन्थ्यो र अक्सिजन? यस्तै रोइकराइरहेका संक्रमित बिरामीका लागि सँगसँगै अभियानले ठूलो राहत दियो।
स्थानीय प्रशासन, पालिका र अक्सिजन सप्लायर्ससँग समन्वय गरेर अक्सिजनको आपूर्ति र सहयोग गर्न थालेको बताउने श्रेष्ठले भनिन्, ‘यस अभियान देखेर सुरुमा हिचकिचाउनेहरूले नै आर्थिक सहयोग गरे।’
अभियान अनेक हुन्छन्। अभियानकै नाममा मान्छेहरू आर्थिक सहयोग मागेर गायब हुनेहरू पनि छन्। तर, यस्तो कोरोना कहरको बेला सुनसान सडकमा उत्रिएर संक्रमित बिरामी खोजीखोजी सहयोग गर्नु आफैंमा नौलो र हिम्मतको काम थियो। स्थानीय कार्यकर्ताले कसैको भ्रातृसंगठनको खेल नसम्झिएका पनि होइनन्। तर, श्रेष्ठको अभियान स्वार्थरहित थियो। राजनीतिक हावाले छोएको थिएन। कुनै पार्टीको झन्डा बोकेका थिएनन्। विशुद्ध मानव सेवामा जुटेका युवाको पहलकदमी थियो। तर, विस्तारै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वेच्छिक सहयोग संकलनमा समेत रोक लगाएकाले नगद संकलन भने बन्द गरे।
‘तर अभियानलाई सहयोग गर्न कोही आउँछन् भने रोक्नु हुन्थेन। रोकिदिए। तर हाम्रो अभियान रोकिएन’, उनले भनिन्।
अभियानले गरेको सहयोग
अभियान जब प्रभावकारी हुँदै जान्छ त्यसपछि आममान्छेले पनि सहयोग गर्न चाहन्छ। जसका कारण लामो समयसम्म अभियान जारी रहन सक्छ। सँगसँगै अभियानले हालसम्म बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका लागि १४४ वटा अक्सिजन रिफिल गरेर ल्याएको छ।
बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिकालाई पनि एन्टिजन किट, इग्जामिनेसन ग्लोब्स, सर्जिकल ग्लोब्स, सेनिटाइजर, मास्क, डिसइन्फेक्टेन्ट सोलुसनलगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताइन्।
सँगसँगै अभियानबाटै बेलौरीको वडा १ र वडा ३ को १० जनालार्ई स्वास्थ्य तथा पोषणयुक्त सामग्री वितरण गरियो। अण्डा, सुप, च्यवनप्रास, थर्मोमिटर, अक्सिमिटर, मास्क, ग्लोब्स, सेनिटाइजर उपलब्ध गरायो।
कञ्चनपुरकै एनएनएसडब्ल्यूए नामक संस्थाको सहयोगमा अभियानले बेलौरीका हरेक वडामा ७५ जना कोरोना संक्रमितलाई स्वास्थ्य तथा पोषणयुक्त सामग्री वितरण गरेको छ व्यवस्थापन गरेको छ। यस क्रममा काजु, बदाम, च्यावनप्रास, चिनी, चियापत्ती, मेडिकल मास्क, सेनिटाइजर, झुल, टिस्यु पेपर, साबुन, मञ्जन, ब्रुसलगायत वितरण गरिएको छ।
सँगसँगै अभियानको संयोजकत्व तथा एनएनएसडब्ल्यूए सहयोगमा बेलौरी र लालझाडीको हेल्प डेस्कमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ।
‘बेलौरी, पुनर्वास र लालझाडीमा हेल्प डेस्क स्थापना गरिएको छ। हेल्प डेस्कबाट स्वास्थ्य सामग्री वितरण गर्ने, संक्रमितहरूले फोनमार्फत् टिपाएका समस्या र गुनासा पालिका र स्वास्थ्यकर्मीसँग समन्वय गरेर समाधान गर्ने गरिएको छ,’ संयोजक श्रेष्ठले भनिन्।
अभियानले पोषणयुक्त खाना खुवाइरहेको छ। होम आइसोलेसनमा बसेका व्यक्तिलाई घरमै पुगेर सहयोग गर्ने गरिएको छ। ‘संक्रमितको विवरण पालिकासँग लिन्छौं। नगरपालिकाका स्वास्थ्यकर्मीसहित घरघरमै गएर स्वास्थ्य तथा पोषण सामग्री सहयोग गर्दै आएका छौं’, उनले भनिन्।
सँगसँगै अभियानको काम देखेर विभिन्न मुलुकमा बसेका नेपालीले सक्दो आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री पठाएका छन्। अभियानले ती सामग्रीलाई पुनर्वास नगरपालिकालाई कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई वितरण गरेको छ।
अभियानले चिकित्सकसँग सहकार्य गरेर फोनमार्फत् निःशुल्क स्वास्थ्य परामर्श सेवासमेत दिइरहेको छ। डा. सुरेन्द्र ऐर नेतृत्वको टिमसँग सहकार्य गरेर स्वास्थ्य परामर्श सेवा प्रदान भइरहेको छ। निःशुल्क परामर्श सेवामा १९ डाक्टर आबद्ध छन्। स्वास्थ्य समस्या भएका व्यक्तिले सीधै टेलिफोन गरेर परामर्श लिन सक्छन्। सँगसँगै अभियानमा डाक्टरहरूको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
अभियानले कोरोनासम्बन्धी जानकारीमूलक सन्देश भएको पम्पलेट बनाउने, सरकारले आह्वान गरेअनुसार कोरोनाविरुद्धको खोपको फाराम नभरेका र भर्न नजान्नेहरूको फाराम भरिदिने काम गरिरहेको छ। जनचेतनामूलक सन्देश बनाउने तथा रेडियो र सामाजिक सञ्जालबाट प्रसारण गर्ने कामसमेत अभियानले गर्दै आइरहेको छ।
सन्देश प्रसारणका लागि कञ्चनपुरको रेडियो सुदूर सञ्चार, कैलालीको रेडियो दिनेश एफएम, रेडियो कैलाली, डडेल्धुराको रेडियो अमरगढी, डोटीको रेडियो त्रिवेणी, अछामको रेडियो जनआवाज र बैतडीको रेडियो निङ्लाशैनीसँग सहकार्य गरेर काम गरिरहेको बताउँछिन् श्रेष्ठ।
सँगसँगै अभियानको काम देखेर विभिन्न मुलुकमा बसेका नेपालीले सक्दो आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री पठाएका छन्। अभियानले ती सामग्रीलाई पुनर्वास नगरपालिकालाई कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई वितरण गरेको छ।
बिना दर्ता नै अभियान
सेवाको भाव आउनुपर्छ मनमा, संकटमा पनि सहयोगी हात जुट्छ भन्ने उदाहरण बनेकी छिन्, सँगसँगै अभियानकी श्रेष्ठ। कहिलेसम्म कोरोना कहरसँग जुध्नुपर्ने हो त्यो त देशको राजनीति खिचातानीले बताइहालेको छ। जनता बचाउनुपर्नेमा ओली सरकार सत्ता टिकाउन र मन्त्रीलाई फेर्नमा लिप्त छ। तर, देशमा केही मान्छेहरू हुन्छन् जसको सहयोगले कसैले जीवन पाउँछन्।
यस्तै केही विशेष मान्छे भइदिएकी छन् उनी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकका स्थानीयलाई। विभिन्न संघसंस्थाहरू महामारीका बेला हराएझैं भइरहेको बेला बिना दर्ता नै सँगसँगै अभियानले जनताको हितमा काम गरेको छ। उनी भन्छिन्, ‘राम्रो काम गर्न सरकारी मोहर लाउनैपर्छ भन्ने हुँदो रहेनछ। राम्रो नराम्रा जनताले छुट्याउन सक्छन्। र, सहयोग मिल्दोरहेछ।’
अभियानका क्रममा स्थानीय प्रहरीले नरोकेको होइन। सडक कुरेर बस्ने प्रहरीले रोकेर उनीहरूसँग अभियानको दर्ता नम्बर पनि खोज्दै केरकार पनि गरे। ‘कतिपयले त महामारीमा अभियान चलाउने भन्दै हप्काए। दर्ता नम्बर माग्दै घरमा थपक्क बस भने। तर मनले मानेन’, उनले भनिन्।
सँगसँगै अभियानले कति निरन्तरता पाउने हो त्यसमा उनी ढुक्क छैनन्। तर महामारीबाट मुक्त नहुन्जेल अभियानले मानव सेवा गर्दै जाने अठोट लिएको छ।