धनगढी-कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षले प्राविधिकमाथि हातपात गरेको भन्दै आइतबार कामकाज ठप्प भएको छ ।
वडा अध्यक्ष कृष्ण शाहले प्राविधिकमाथि कार्यकक्षमै दुव्र्यवहार गरेर अपशब्द बोलेको पीडित प्राविधिक विष्णु न्यौपानले बताए । वडाअध्यक्ष शाहले आफ्नो वडाका योजना अनुगमन गर्न किन नआएको भन्दै सव–इन्जिनियरद्वय न्यौपाने र त्रिकोक शाहीलाई कार्यकक्षमै आएर अपशब्द प्रयोग गर्दै हातपात गरेको विरोधमा कर्मचारीले काम ठप्प पारेका हुन् ।
‘हामी काममै व्यस्त थियौँ अध्यक्ष आएर आफ्नो वडाको योजना अनुगमन गर्न किन नआएको भन्दै फोहोर शव्दले गाली बेईजती गर्नुभयो’ सव-इन्जिनियर न्यौपानेले भने-‘टेबुल ठटाउदै कानको जालीसमेत फुटाली दिन्छु भनेपछि पेन डाउन गरिएको हो ।’
शाहले आफ्नो वडाको कामलाई पहिला सक्न दबाब दिँदै आएको कर्मचारीहरुले बताएका छन् । कर्मचारीले पेन डाउन गरेपछि कार्यालय पुगेका सेवाग्राही समस्यामा परेका छन् ।
छलफलमा आएनन् वडाध्यक्ष
समस्या समाधानका लागि नगरपालिकाले सर्वपक्षिय छलफल बोलाएर पनि बैठकमा वडाध्यक्ष शाह नै अनुपस्थित भएपछि निकास निस्कन सकेको छैन ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेश रेग्मीका अनुसार शाहले कर्मचारीको कार्यकक्षमा आएर गल्ती स्वीकार्दै माफी मागेपनि बैठकमा अनुपस्थित हुँदा समस्याले निकास पाएको छैन ।
शुक्रबारमात्रै योजनाको अनुगमन नगरेको भन्दै कैलालीकै घोडाघोडी नगरपलिकाका उपमेयरलाई उपभोक्ता समितिका पदाधिकारी आएर कार्यकक्ष मै थुनेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४