सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको हेटौंडा भेलाः यस्तो छ देउवाको दाउ र पौडेलको प्रयास

कांग्रेसको हेटौंडा भेलाः यस्तो छ देउवाको दाउ र पौडेलको प्रयास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– ५–७ असारमा हेटौंडामा हुन लागेको कांग्रेस जिल्ला सभापतिहरूको भेला तीनवटा तहको निर्वाचन समीक्षामै केन्द्रित हुने सम्भावना छ । भेलालाई आफ्नो पक्षमा उपयोग गर्ने दाउमा संस्थापन पक्ष र असन्तुष्ट खेमा छन्। 

केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष र विपक्षका जिल्ला सभापतिहरू आ–आफ्ना रणनीति बनाउन तल्लीन छन् । निश्चित छ, देउवाइतर पक्षले निर्वाचनमा पराजयको दोष नेतृत्वमाथि खन्याउन प्रयास गर्नेछ । देउवा पक्षका सभापतिले उनको बचाउको प्रयत्न गर्नेछन् ।

तीनै तहका निर्वाचन सकिएको चार महिनापछि आयोजित केन्द्रीय कार्यसमिति बैठकमा देउवाले चर्को आलोचना सामना गर्नुपरेको थियो । तर, उक्त बैठक पराजयको कारण र भावी कार्यदिशाबारे निर्णय लिन असफल बन्यो । 

केन्द्रीय कार्यसमिति बैठकले नै जिल्ला सभापति र महासमिति भेलामार्फत् पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने निष्कर्ष निकालेको थियो । 

हाल ७७ जिल्ला सभापतिमध्ये करिब ३२ जना संस्थापन पक्षका छन् भने संस्थापनइतर ४५ सभापति छन् । संस्थापन पक्षधर केही सभापतिसमेत नेतृत्वप्रति असन्तुष्ट छन् । केही यस्ता सभापति पनि छन्, जो देउवा पक्षधर हुन् तर उनका पक्षमा मुख खोल्ने आँटमा देखिँदैनन् । 

सभापति देउवानिकट केही सभापतिले भने निर्वाचन हार्नुको मुख्य कारण एमाले र माओवादी केन्द्रबीचको गठबन्धन रहेको बताउँदै उनको बचाउ गर्ने तयारी गरिरहेका छन् । तीन वटा तहका निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न हुनु नै सबैभन्दा ठूलो उपलब्धि भएको विषयलाई उठाउने उनीहरूको तयारी देखिन्छ । अनि, गुटबन्दी र अन्तरघातका बावजुद अनुशासनको कारवाही नहुँदा पार्टी पराजित भएको तर्कसमेत अगाडि सार्ने उनीहरूको तयारी छ । 

‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्ने अधिकार जिल्ला सभापतिलाई नदिइएकामा सबैभन्दा बढी असन्तुष्टी छ,’ कांग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य भन्छन्, ‘अनुशासनको कारवाही गर्नुपर्छ भन्ने विषयमा धेरै सभापतिको मत आउने सम्भावना छ ।’

स्थानीय निर्वाचनमा एउटै पदमा दुईदेखि तीन जनासम्मलाई टिकट दिइएको, पार्टीको उम्मेदवार चयन गर्दा जिल्ला कार्यसमितिलाई बञ्चित र भूमिकाविहीन बनाइएको गुनासो भेलामा बढी आउने सम्भावना छ । 

‘स्थानीय तहमा उम्मेदवार चयन गर्दा हाम्रो भूमिकालाई निस्तेज गर्ने, गौण बनाउने काम नेतृत्वले गरेको छ,’ कांग्रेस बर्दियाका सभापति तथा सांसद सञ्जय गौतम भन्छन्, ‘प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार छनोट गर्दा हाम्रो सुझाव नलिनु त्रुटी हो ।’ 

यस्तै, स्थानीय तहमा माओवादी केन्द्रसँग तालमेल गरेर त्यसलाई प्रदेश र संघीय संसदको निर्वाचनसम्म टिकाउन नसक्नुलाई पनि भेलामा पार्टी नेतृत्वमाथि प्रश्न गर्ने विषय बनाइने सम्भावना छ । 

विपक्षले कांग्रेसलाई लगाएको आक्षेप र आरोपको खण्डन गर्न नसक्नु, सभापति आफैं एउटा गुटको मात्र नेता बन्न चाहनु तथा अन्तरघात र असहयोग गर्नेलाई अनुशासनको कारवाही नगर्नु नेतृत्वको कमजोरी भएको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी बताउँछन् । 

जनाधार नभएको पार्टीसँग तालमेल गरी जनाधार भएको पार्टीलाई उपेक्षा गर्नु पनि निर्वाचनमा पराजयको कारकका रूपमा औंल्याउने तयारीमा संस्थापनइतर सभापतिहरू देखिन्छन् । यस्तै, निर्वाचनकेन्द्रित राष्ट्रिय मुद्दालाई नेतृत्वले जनतासम्म पु¥याउने संयन्त्र र प्रणाली नबनाएको, विपक्षीको चुनावी तालमेलबाट अतालिएर जनमतलाई आकर्षित गर्ने एजेन्डा दिन नसकेको गुनासा सभापति देउवाले सामना गर्नुपर्ने देखिन्छ । 

‘विधानबमोजिम पार्टीलाई अघि बढाउन सुझाव दिनेछौं,’ कांग्रेस झापाका सभापति उद्धव थापा भन्छन्, ‘नेतृत्वको अहिलेको जस्तो गतिविधिबाट पार्टीले चुनौती सामना गर्न सक्दैन ।’ 

नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चल्ने हो भने धेरै समस्याको समाधान हुने बर्दिया सभापति गौतम बताउँछन् । भन्छन्, ‘अहिले पार्टी परिचालित हुन सकेको छैन । पार्टीमा अराजकता बढेको छ ।’

पार्टी संगठन क्षतविक्षत भएको टिप्पणी गर्दै उम्मेदवार छनोटमा नेतृत्वले गरेका गल्ती अब सच्याउनुपर्ने गौतमको भनाइ छ । 

नुवाकोट सभापति केसी भन्छन्, ‘केन्द्रीय सदस्यसहित सबै पदमा निर्वाचन प्रणालीबाटै पदाधिकारी र सदस्य चयन गर्ने व्यवस्था हुनुपर्छ । केन्द्रीय सभापतिले निर्वाचनमा भएको पराजयको जिम्मेवारी नलिए जिल्ला सभापतिहरूले नै लिन्छन् ।’

नेतृत्वसँग डराएर, कायर भएर र चाकडी गरेर कांग्रेसलाई परिवर्तन गर्न नसकिने उनको भनाइ छ । 

‘पार्टीले क्रियाशील सदस्यता वितरणमा नियन्त्रण गर्नुपर्छ, विधानलाई संघीय संरचनाअनुसार सबै स्थानीय तहमा लैजानुपर्छ । घात  र अन्तरघात गर्नेलाई कारवाही गर्न अनुशासन समिति क्रियाशील गराउनुपर्छ,’ ललितपुर सभापति अमात्य भन्छन् ।

कांग्रेस कैलाली सभापति नरनारायण शाह भने निर्वाचनमा पराजयको भागिदार सबै जना रहेको बताउँछन् । ‘केन्द्रीय सभापतिका नाताले शेरबहादुरजीले जिम्मेवारी लिनु पर्ला तर जिल्ला हाँक्ने जिल्ला सभापतिहरूको पनि त दोष छ नि,’ शाह भन्छन्, ‘आफ्नातर्फबाट केन्द्रीय सभापतिलाई चुनाव जित्ने एजेन्डा पस्किन नसक्ने अनि सबै दोष केन्द्रीय सभापतिलाई मात्र दिएर हुँदैन ।’ यही विषय आफूले भेलामा उठाउने उनी बताउँछन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।