काठमाडौं– बाढीपहिरो र डुबानमा परेका नागरिकको उद्धार तथा राहतमा जुट्न विपक्षी दलले सरकारलाई आग्रह गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले सरकारसँग माग गरेका हुन्।
विज्ञप्तिमा बाढीपहिरो र डुबानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरिएको छ। ‘बाढीपहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘इमान्दारी, तदारुकता र पारदर्शी रुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधनस्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं।’
साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थालाई समेत आह्वान गरेका छन्। ‘यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौं’, विज्ञप्तिमा थप भनिएको छ।
विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल छन्।
साथै विज्ञप्तिमा सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि छन्।