काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयकाे इन्जिनियरिङतर्फका निर्देशक विश्वनाथप्रसाद यादवले विषय शिक्षकले दिएको अंकलाई लुकाएर विद्यार्थीलाई आफूखुसी अंक दिएका छन्। निर्देशक यादवले विद्यार्थीको नतिजामा मनोमानी गरेपछि विश्वविद्यालयको गरिमामाथि नै गम्भीर प्रश्न खडा भएको छ।
मास्टर्स इन इन्जिनियरिङ कार्यक्रमका निर्देशक यादवले पहिलो समेस्टरका विद्यार्थीलाई प्राक्टिलबापत समान अंक दिएका हुन्। उनले सम्बन्धित विषय शिक्षकले दिएको नम्बरलाई लुकाएर मनलाग्दी नम्बर दिएको पाइएको छ। यस क्रममा उनले कतिपय विद्यार्थीको आन्तरिक मूल्यांकन नगरी हचुवाका भरमा नम्बर दिएका छन्।
आन्तरिक परीक्षा सञ्चालन नगरी हचुवाका भरमा नम्बर दिएको पाइएपछि विद्यार्थीले डिन कार्यालय र उपकुलपति कार्यालयमा उजुरी गरेका छन्। यादवले यसअघि पनि प्रथम सेमेस्टरका विद्यार्थीको आन्तरिक मूल्यांकनमा सबै विषयमा सबैलाई समान अंक दिएका थिए।
इन्जिनियरिङजस्तो विषयमा हचुवाको भरमा नम्बर दिँदै आएको गुनासो विद्यार्थीको छ। चिट चोरेर परीक्षा दिन पाइने र सर्टिफिकेटका लागि मात्र पढ्ने जागिरे विद्यार्थी पनि भएकाले यादवले त्यसको फाइदा लिँदै मनोमानी गरेका हुन्। प्रयोगात्मक कक्षा सञ्चालन नभएको भन्दै डिन कार्यालयले मास्टर्स तेस्रो सेमेस्टरको स्ट्रक्चरल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छैन। आन्तरिक मूल्यांकनको ४० मा ४० नम्बरमा पठाएपछि यसको नतिजा डिन कार्यालयले रोकिदिएको छ। सबै विषयमा समान नम्बर आएपछि विवाद बढेको थियो।
निर्देशक यादवले भने आन्तरिक मूल्यांकनमा कहिलेकाहीं मानवीय त्रुटि हुन सक्ने बताए। उनले भने, ‘शिक्षकले नै दिएको अंक मैले पनिकामा पठाएको हुँ। क्याम्पस नआउने विद्यार्थीले पनि नम्बर पाएको भन्ने होइन।’
शिक्षकले आन्तरिक मूल्यांकनको नम्बर दिएका छैनन्। यस्तै लिखित परीक्षामा २० जनामा ९ जना मात्र पास भएपछि यादवले हचुवाका भरमा अंक दिएको पुष्टि भएको हो। उनले विषय शिक्षकलाई नसोधी मनलाग्दी रुपमा नम्बर पठाएर विद्यार्थीको ग्रुपमा सेयर गरेका थिए।
निर्देशक यादवले भने आन्तरिक मूल्यांकनमा कहिलेकाहीं मानवीय त्रुटि हुन सक्ने बताए। उनले भने, ‘शिक्षकले नै दिएको अंक मैले पनिकामा पठाएको हुँ। क्याम्पस नआउने विद्यार्थीले पनि नम्बर पाएको भन्ने होइन।’ मूल्यांकनको मापदण्ड क्याम्पसमा नियमित नहुने विद्यार्थीले पनि पूरा गरेका हुन सक्ने दाबी उनको छ। उनले भने, ‘असाइनमेन्ट बुझाएका हुन्छन्। प्रयोगात्मक कक्षामा सहभागी भएका हुन्छन्। आन्तरिक परीक्षा हुन्छ। त्यसकै आधारमा मूल्यांकन गर्ने हो।’
दैनिक उपस्थित कम भए पनि अरू प्रक्रिया पूरा गरेमा नम्बर खासै तलमाथि नपर्ने उनको दाबी छ। उनले भने, ‘विद्यार्थीलाई राम्रो नम्बर आओस् भन्ने हुन्छ। विद्यार्थी र क्याम्पसबीच मिसअन्डरस्ट्यान्डिङ भएको रहेछ। हामीले मिलाइसक्यौं। सबै विद्यार्थीसँग कुरा भयो विद्यार्थी खुसी छन्।’
विद्यार्थीले चाँडै कक्षा सञ्चालन गर्न भनेको र आफूहरु त्यसैको तयारीमा रहेको यादवको भनाइ छ। उनी माओवादी निकट प्राध्यापक संघका सदस्य हुन्। यसअघि उनी सिभिलको विभागीय प्रमुख हुँदै परीक्षा सञ्चालनमा बेथिति गर्न खोजेको आरोप लागेपछि विश्वविद्यालयका पदाधिकारीसँग विवाद भएको थियो।
उनको यस्तो क्रियाकलापप्रति सहायक डिन वीरेन्द्र खड्काले आपत्ति जनाउँदै आएका छन्। उनले विश्वविद्यालयको परिस्थिति त्यस्तै भएको र अन्य विषयको नतिजा प्रकाशित भए पनि स्ट्रक्चरको तेस्रो सेमेस्टरको प्राक्टिकल (ल्याब वर्क) गराउन नसकिएको बताए। खड्काले भने, ‘हामीसँग ल्याबमा भएको इक्युपमेन्टबाट सकेको यतै गरौं नसकेको त्रिविको पुल्चोक इन्जिनियरिङ क्याम्पस वा काठमाडौैं विश्वविद्यालयको क्याम्पसमा गएर प्राक्टिकल गरे पनि प्राक्टिकल गर्ने भएकाले रिजल्ट होल्ड गर्न भनेको हुँ। स्ट्रक्चर जस्तो विषयमा ल्याब अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यसैले लकडाउन खुलेपछि भौतिक रुपमा उपस्थित भएर ल्याबको काम सकेपछि मात्र अगाडि बढौंला भनेर रोकिएको हो।’
सहायक डिन खड्काले मध्यपश्चिम विश्वविद्यालय नयाँ विश्वविद्यालय भएकाले केही त्रुटि भएरै समस्या बाहिर आएको बताए। उनले भने, ‘त्यसलाई हामीले बिस्तारै हटाउँदै लगेका छौं। पहिले शिक्षकको पनि अभाव थियो।’
त्यसो त क्याम्पसमा विद्यार्थी उपस्थित भएर अध्ययन नगर्ने र अनलाइनमा पनि त्यति ध्यान नदिने विषय उनले स्वीकार गरे। उनले प्रयोगात्मक कक्षा सकिएपछि मात्र नतिजा प्रकाशन हुने बताए।
खड्का र निर्देशक यादवको बीचमा राम्रो सम्बन्ध छैन। यादवले १६ विषयमध्ये अधिकांश विषयको नम्बर आफैंले दिएका छन्।
उनले विद्यार्थीलाई खुसी पार्नका लागि यस्तो गरेको त्यहाँ अन्य ठाउँमा कार्यरत इन्जिनियरले भर्ना हुने र परीक्षामात्र दिने गरेको विश्वविद्यालयकै एक शिक्षकले बताए। यादव स्थायी शिक्षक भएकाले पनि विश्वविद्यालयले कारबाही गर्न नसक्ने भन्दै आफूखुसी निर्णय गर्दै आएको अध्यापनरत शिक्षकहरु बताउँछन्। क्याम्पसमै नआएका विद्यार्थीलाई पनि बराबर नम्बर दिएपछि नियमित आउने विद्यार्थी मर्कामा परेका छन्।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह मनोमानी रुपमा अंक दिएको पाइएमा कारबाही गरिने बताउँछन्। उनी भन्छन्, ‘यस्तो नम्बर देखेपछि हामी आश्चर्यमा छौं। विद्यार्थीले उजुरी गरेपछि यसउपर छानबिन हुनुपर्छ। विद्यार्थी र निर्देशक मिलेर पैसा खाने अनि विश्वविद्यालयको बदनाम गराउने?’
परीक्षा नियन्त्रण कार्यालयले प्रयोगात्मक विषयको नम्बर नआएको हुनाले नतिजा प्रकाशन गर्न ढिलाइ भएको जनाएको छ। सबै कुरा नहेरी कार्यालयले नतिजा प्रकाशन गरेको भन्दै कार्यालयका प्रमुख आनन्द सुवेदीलाई उपकुलपति नन्दबहादुर सिंहले हप्काएका थिए। सुवेदीले भने आफूलाई कसैको गुनासो नआएको बताए। उनले भने, ‘यस्तो समस्या देखिए परीक्षा समितिमा छलफल गरेर उपकुलपति कार्यालयसम्म पुग्छ। हामीले उताबाट निर्णय भएर आइसकेको काम अघि बढाउने हो।’
विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह मनोमानी रुपमा अंक दिएको पाइएमा कारबाही गरिने बताउँछन्। उनी भन्छन्, ‘यस्तो नम्बर देखेपछि हामी आश्चर्यमा छौं। विद्यार्थीले उजुरी गरेपछि यसउपर छानबिन हुनुपर्छ। विद्यार्थी र निर्देशक मिलेर पैसा खाने अनि विश्वविद्यालयको बदनाम गराउने?’
राजनीतिक आडमा कसैलाई मनलाग्दी गर्न छुट नभएको उनको भनाइ छ। ‘म विश्वविद्यालय जस्तो प्राज्ञिक थलोलाई धमिल्याउन दिन्नँ। गलत गर्नेलाई कारबाही गरेरै छाड्छु’, सिंह भन्छन्। उपकुलपति सिंहले विद्यार्थीले पनि शिक्षकलाई प्रलोभनमा पारेका हुन सक्ने बताए। उनले भने, ‘विद्यार्थी पनि दोषी छन्। तर सर्टिफिकेट बेचेर पैसा कमाउने धन्दा गर्न मिल्दैन।’ उनले विषय शिक्षकले दिएको अंकलाई लुकाएर सबै विषयमा उस्तै अंक दिएर अक्षम्य अपराध गरेको बताए।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस भए पनि मास्टर्स इन इन्जिनियरिङ छुट्टै व्यवस्थापनबाट सञ्चालनमा छ। प्रत्येक सेमेस्टरमा मास्टर्सको स्ट्रक्चरल इन्जिनियरिङमा १३ जना र कन्सट्रक्सन म्यानेजमेन्टमा २० जना विद्यार्थी हुन्छन्। तर उनीहरूले सर्टिफिकेट क्याम्पसको पाउने वा विश्वविद्यालयको भन्ने अन्योल छ। स्नातकोत्तर कार्यक्रम क्याम्पसअन्तर्गत छैन।
विश्वविद्यालयमा इन्जिनियरिङ केन्द्रीय क्याम्पस छ। तर पर्याप्त जनशक्ति छैनन्। शिक्षक छनोटका लागि सेवा आयोगको परीक्षा भएको दुई वर्ष बितिसक्दा पनि नतिजा प्रकाशित भएको छैन। विश्वविद्यालयमा इन्जिनियरिङ संकायतर्फ एकजना पनि प्राध्यापक–सहप्राध्यापक छैनन्। इन्जिनियरिङ कार्यक्रम उपप्राध्यापकको भरमा चलेको छ। कर्मचारी र शिक्षक राजनीतिक आडमा नियुक्त हुने क्रम रोकिएको छैन।
एकपटक अनुत्तीर्ण भएर मौका परीक्षामा अनुत्तीर्ण विद्यार्थी अनलाइन परीक्षामा उत्तीर्ण भएका छन्। प्रशिक्षक पदमा जागिर खाएका शरद आचार्यले पनि स्नातकोत्तरमा अध्यापन गराइरहेका छन्। उनलाई विश्वविद्यालयले स्नातकोत्तरको पाठ्यक्रम निर्माण गर्ने विज्ञको समितिमा राखेको थियो। प्राध्यापक नभएकाले बाहिरबाट ल्याएर एक सातामा कोर्स सक्ने काम गर्दा विद्यार्थीले गुणस्तरीय शिक्षा पाएका छैनन्।