काठमाडौं- आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले पत्रकारहरुलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
समाचार प्रसारण भएको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गरी धम्की दिएको घटनामा महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो। सोही विषय समेटेर प्रसारित टेलिभिजन कार्यक्रमप्रति आपत्ति जनाउँदै शाहीले पत्रकारलाई धम्की दिएका थिए।
महासंघले प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानूनी उपचार खोजिनुपर्नेमा पात्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम भएको बताएको छ।
साथै महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग मागसमेत गरेको छ।
