काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता जगन्नाथ खतिवडाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भएको दाबी गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै नेता खतिवडाले यस्तो उल्लेख गरेका हुन्।
बुधबार दिउँसो उपचारका लागि भारतको नयाँदिल्ली जानुअघि खनालको हस्ताक्षर भएको विज्ञप्ति सार्वजनिक भएको थियो। विज्ञप्तिमा पार्टी एकता जोगाउन एकजुट हुनुपर्छ भन्ने उल्लेख थियो।
'स्वदेशमा उपचार नहुने परिस्थितिमा विदेशमा उपचार गर्न जानुभएका क. झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर दुरुपयोग गरी वक्तब्य जारी गर्नु निकै नै दुखद छ,' नेता खतिवडाले स्टाटस लेखेका छन्, 'श्वास प्रश्वासमा समेत गार्हो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तब्य लेख्ने कल्पना गर्न सकिँदैन। वक्तव्यमा उल्लेखित विचार क. झलनाथ खनालको विचारसंग मेल खाँदैन।'
नेता खतिवडाले झलनाथ खनाल दिल्ली जानका लागि जहाज चढिसकेपछि वक्तव्य आउनु रहस्यमय भएको बताएका छन्।
'खनालको वक्तव्यको चालबाजी रची कार्यकर्तालाई दिग्भ्रमित पार्नु नै पर्दैन। सर्वोच्चको फैसला, आदेश र विधानको ब्यबस्था बमोजिम खुला सम्बाद गर्दा हुन्छ। बिग्रेको सच्याउछु भनी सच्याउदा हुन्छ। एजेन्डँहरु सम्बोधन गर्दा हुन्छ। यस्तो नाटक गरिरहनु पर्दैन,' ओली पक्षलाई संकेत गर्दै उनले लेखेका छन्। उनले ओली पक्षकै कोही नेताले खनालका नाममा कीर्ते विज्ञप्ति जारी गरेको हुन सक्ने आशंकाको भाव व्यक्त गरेका छन्।
नेता खनालको बिरामी अवस्थालाई राजनीतिक स्वार्थको घैँटो भर्नका लागि प्रयोग भइरहेको उनको आरोप छ। 'खनालले खण्डन गर्नु भएमा यो नाटक बन्द हुनेछ। तर उहाँ अशक्त हुनुहुन्छ। आदरणीय नेताको बिरामी अवस्थालाई कसैको राजनीतिक स्वार्थको घैटो भर्नका लागि अपमान नगरौं,' उनको आग्रह छ।
