जनकपुरधाम- नेपालमा मनसुन प्रवेश गरेको साता दिन बित्नै लागेको छ। पछिल्लो केही दिनयता देशैभरि भइरहेको लगातारको वर्षाले पनि नेपालमा मनसुन सक्रिय भइसकेको संकेत दिन्छ।
वर्षाकै कारण आएको बाढीले नेपालको कयौं स्थानमा ताण्डव मच्चाई रहेको छ। जबकि यो वर्षा मौसमको सुरुवात मात्रै हो। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औषतभन्दा बढी वर्षा हुने गरेको छ। यसका साथै १८ लाखभन्दा बढी प्रभावित हुने जनाइएको छ।
नेपालमा सबैभन्दा बढी वर्षाका कारण हुने बाढीबाट प्रत्येक वर्ष प्रदेश २ प्रभावित हुँदै आइरहेको छ। यद्यपि अहिलेसम्म भएको वर्षाले तराईका नदीहरुमा बहाव खतरा बाहिर नगएकाले बाढीबाट सुरक्षित छ। यो वर्षा मौसमको सुरुवात मात्रै भएकोले अब आउने दिनमा नदीको बहाव बढ्दै गयोे भने सबैभन्दा बढी प्रभावित प्रदेश २ नै हुने जनाइएको छ। पछिल्ला वर्षहरुको तथ्यांकले समेत बाढीबाट सबैभन्दा बढी प्रदेश २ नै प्रभावित हुँदै आएको देखाउँछ।
गत वर्ष प्रदेश २ मा करोडौंको क्षति भएको थियो भने कयौँ व्यक्तिको ज्यानसमेत गएको थियो। हजारौं सर्वसाधारण घरबारविहीन भएका थिए। प्रदेश २ मा गत दुई आर्थिक वर्षमा गरी बाढी तथा डुवानमा परेर ९२ जनाले ज्यान गुमाउनु परेको तथ्यांक प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी रौतहटमा ४३ जनाको ज्यान बाढी तथा डुवानमा परेर गएको थियो। त्यस्तै धनुषामा १५, सिरहामा १२, सर्लाहीमा ९, सप्तरीमा ५ पर्सामा ६ र बारामा २ जनाको ज्यान गएको थियो।
गत वर्ष वर्षासँगै आएको बाढी तथा डुबानका कारण प्रदेश २ मा कृषिमा मात्रै अढाई अर्बभन्दा बढीको क्षति भएको थियो।
प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलेसमेत गत वर्षको बाढीले अर्बौंको बाली बगाएको जनाएको छ। प्रदेश २ को ८ वटै जिल्लामा २ अर्ब ६७ करोड ६ लाख ४८ हजार बराबरको क्षति भएको छ। बालीतर्फ करिब १ अर्ब ५५ करोड ४८ लाख ५४ हजार बराबरको क्षति भएको थियो।
त्यस्तै पशुपंक्षीतर्फ यस प्रदेशमा १ अर्ब ११ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो। प्रदेश २ मा कुल ५ लाख ४७ हजार २२५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ। जसमध्ये ५ लाख २६ हजार ६५ हेक्टर क्षेत्रफल जग्गामा खेती गरिएको थियो भने ३५ हजार ४४० हेक्टर जग्गामा खेती गरिएको थिएन।
बाढी तथा डुबानको कारण ८ वटै जिल्ला गरी बालीतर्फ ५५ हजार ६२० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयको तथ्यांक छ। त्यस्तै पशुपंक्षीतर्फ १ हजार ९८७ हेक्टरमा माछा पालन गरिएको पोखरीमा क्षति भएको थियो।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले विपदबाट सबैभन्दा बढी हाम्रै प्रदेश हुने गरेको र विपदबाट हुने क्षतिको न्यूनीकरणकरणका लागि प्रदेश सरकार तयार रहेको बताए। उनले विपद व्यवस्थापनसम्बन्धी सरकारले नीति तथा ऐन ल्याउनुका साथै नियमावलीसमेत बनाइसकेको जानकारी दिए।
मन्त्री यादवले भने, ‘विपद व्यवस्थापनाका लागि प्रदेश सरकारले १० वर्षे रणनीति बनाइरहेको छ र यसमा केही समय लाग्नेछ।’ तर प्रत्येक वर्ष बाढी तथा डुबानबाट हुने क्षतिमध्ये मानवीय क्षति कसरी कम गर्ने यसका लागि वर्षको सुरुमै योजना बनाउने गरेको उनको भनाइ छ। उनले भने ‘हामी प्रत्येक वर्ष पहिले नै प्रत्येक वर्षझैं आफ्नो रणनीति बनाउँदै आएको र सुरक्षा निकायलाई समेत विपद व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छौं।’
उनका अनुसार आठवटै जिल्लाका सुरक्षा निकायलाई विपद् व्यवस्थापनका लागि मोटर बोट, नाइनल बोट, रबर बोट, थ्रोओइङ ब्याग, ड्रोन क्यामेरालगायतको सामग्री हस्तान्तरण गरिएको छ।
यता प्रदेश २ प्रहरीका प्रमुख धीरजप्रताप सिंहले बाढी तथा डुबानबाट हुने क्षतिलाई न्युनीकरण गर्नका लागि डुवान क्षेत्रलाई पहिचान गरी तयारी गरिएको बताए। उनले विपद व्यवस्थापनका लागि प्रदेश २ का मुख्य नदीहरु कोशी, बागमती र कमलाका तटीय क्षेत्रमा विशेष तयारी गरिएको जानकारी दिए। प्रदेश प्रहरी प्रमुख सिंहले प्रदेश सरकारले गत वर्ष विपद् व्यवस्थापनका लागि आवश्यक १ करोड बराबरको सामाग्री प्रदेश सरकारले दिएको र थप २ वटा मोटर बोट खरिद गर्ने तयारी भइरहेको बताए।