काठमाडौं- सरकारले असार २५ गतेभित्र सबै किसिमका कर चुक्ता गर्न सूचना जारी गरेको छ। आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर विवरण तथा रकम असार २५ गतेभित्र बुझाउन भनेको हो।
सर्वोच्च अदालतले बन्दाबन्दीका बेला पनि कर उठाउन र जरिवाना समेतको व्यवस्था गर्न कुनै बाधा नपर्ने आदेश गरिदिएपछि विभागले यस्तो सूचना जारी गरेको हो।
यसअघि बन्दाबन्दी पूर्णरुपमा सकिएको मितिदेखि बाटोको म्यादबाहेक ३० दिनसम्म कुनै पनि जरिवाना नलिन सरकारका जेठ ५ गते अन्तरिम आदेश दिएको थियो। तर मंगलबार उक्त आदेशलाई सर्वोच्चले नै खारेज गरेको थियो। सर्वोच्चले आर्थिक ऐन २०७७ को दफा १९ को व्यवस्था अनुसार नै गर्न आदेश दिएको थियो।
विभागको सूचनामा मूल्य अभिवृद्धि कर, आयकर, अन्त:शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन सेवा शुल्क, दूरसञ्चार सेवा शुल्क र अग्रिम करकट्टीको विवरण र कर दाखिला गर्न असार २५ गतेको सीमा तोकेको हो। असार २५ सम्म सबै कर चुक्ता नगरे नियमानुसार गरिवाना लाग्नेछ।
