काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीमा बाढी र पहिरो पीडितहरूको उद्धार र राहतका लागि अनेरास्ववियुको केन्द्रीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
एमाले महासचिव ईश्वर पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट टोलीको बिदाइ गरेका छन्। बिदाइ गर्दै महासचिव पोखरेलले सिन्धुपाल्चोकका बाढी र पहिरो पीडितको उद्धार र राहतमा अनेरास्ववियुले कुशलतापूर्वक भूमिका खेल्ने विश्वास लिएको बताए।
उनले प्राकृतिक विपत्तिको घडीमा नेकपा एमाले का सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गरे। अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन्। राहत तथा उद्धार टोलीले पीडितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेन्ट पनि लिएर गएको छ।