काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथाको सफल आरोहण गर्ने बाबुछोरा पूर्णकुमार शेर्पा र सोनामलाई आर्थिक सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृती जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरिएको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे।
कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए। फादर एण्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सात माहदेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताएको छ।