काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले रिसराग, अहंकार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न नेता–र्यकर्ताहरुलाई आह्वान गरेका छन्।
थप उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि आज बुधबार विज्ञप्ति जारी गर्दै नेता खनालले पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न भनेका हुन्।
‘एकता जोगाउन सकेमात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु,’ उनले भनेका छन्।
देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको उनले बताएका छन्। ‘राजनीतिक दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्। त्यही अन्तर संघर्षको पराकम्प हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ,’ उनले भनेका छन्,‘राष्ट्रिय एकता, अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो। त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साँध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ।’ उनले सबै एकजुट भएर मुलुकका मूलभूत समस्याहरु हल गर्न आग्रह पनि गरेका छन् ।
‘हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो। सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको छ,’ उनले भनेका छन्,‘तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ।’
देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको भन्दै उनले विगतमा सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गर्न भनेका छन्।
उनले एकता सफलताको बाटो भएको र फुट बिनासको भएको बताएका छन्। नेता खनालले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू केही दिनका लागि देश बाहिर जान लागेको प्रष्ट्याएका छन् । ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहन्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका खनाल चिकित्सकहरुको सल्लाहमा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि आज दिल्ली प्रस्थान गरिसकेका छन्।
