काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरूण युवाहरूलाई निर्देशन दिएको छ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले आज सबै जिल्ला समितिलाई परिपत्र गर्दै बाढी पहिरोबाट विपत्तिमा परेकाको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन्।
तरुण दलले केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, लमजुङ, मनाङ, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पालगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतमा जुट्न निर्देशन दिएको हो।
‘भारी वर्षाका कारण आफ्नो जिल्ला र क्षेत्रमा हुन सक्ने विपद् जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरूलाई पनि सचेत गराउन तथा जोखिममा रहेका वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी उद्धार र राहत वितरण कार्यमा जुट्न केन्द्रीय समिति निर्देशन गर्दछ’, अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा भनिएको छ।
अझै केही दिन वर्षा हुने सम्भावना रहेकाले विपद्का बेला खटिने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रसलगायत सामाजिक संघसंस्थासँग सहकार्य गर्नसमेत तरुण दलले आफ्ना जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।