दाङ- अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीका कारण मंगलबारदेखि बेलाघाटमा फसेका चारजनालाई आज उद्धार गरिएको छ।
लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाट बीचको टापुमा फसेका चारजनालाई आज बिहान सुरक्षाकर्मीले सकुशल उद्धार गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
भैँसी चराउन गएका राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ का २६ वर्षीय गणेश यादव र लमही–७ का ४८ वर्षीय मनराम चौधरीको उद्धार गरिएको उनले जानकारी दिए।
जिल्ला आपतकालीन केन्द्र प्रमुख विश्वप्रकाश अर्यालले टापुमा फसेका उनीहरूलाई उद्धारका लागि गएराति नै रबर बोटसहित सुरक्षाकर्मी परिचालन गरिए पनि नदीमा पानीको बहाव नघटेपछि उद्धारमा कठिनाइ भएको बताए।
१५ वटा भैँसी लिएर चराउन गएका उनीहरू रातभरि सोही टापुमा बसेका थिए। भैँसी भने उतै रहेको बताइएको छ।