काठमाडौं- थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन्।
थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए।
‘पार्टी मिलाउनुस् कमरेड!’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेका महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।
जवाफमा पोखरेलले नेता खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौंला’ भनेको पाण्डेकाे जानकारी दिए।
एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन।
नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो। केही महिनाअघि नेता खनाल कोभिड-१९ संक्रमणमुक्त भएका थिए।