काठमाडौं- स्याङ्जामा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन्। दुर्घटनामा भीरकोट नगरपालिका-३ बस्ने ३६ वर्षीय गणेशजंग अधिकारीको मृत्यु भएको हो।
भीरकोट नगर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। आज बिहान १० बजे भीरकोट नगरपालिका-४, दर्बुङठाटीस्थित भित्री कच्ची सडक खण्डमा बानेथोकबाट बयारघारीतर्फ जाँदै गरेको ग १ ज ४९४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो।
जिप सडकबाट ५०० मिटर तल खसेको थियो। घाइतेहरूमा जिप चालक विकास थापा, रेशम परियार, प्रतिमा परियार, रूकबहादुर परियार, सोनी श्रेष्ठ र दिनेश परियार छन्। उनीहरूको पोखरामा थप उपचार भइरहेको छ।