काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।
महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसँग भेटगरी अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो।
महासंघले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको थियो।
अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरागर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष गोल्छाले जोड दिएको महासंघले जनाएको छ।
महासंघसँगको भेटवार्तामा मन्त्री तामाङले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने बताएका थिए।
कोभिडले समग्र अर्थतन्त्रनै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तङग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी रहेको विषयलाई सरकारले मनन गरिसकेको मन्त्री तामाङको भनाइ थियो।