सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भाग्यमानी गाईभैसीः जहाँ आफ्नै दूधको खोले खान पाउँछन्

भाग्यमानी गाईभैसीः जहाँ आफ्नै दूधको खोले खान पाउँछन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
झापा- झापा शरणामतीका किसानले दूध नबिकेपछि त्यहि दुधको खोले बनाएर गाईबस्तुलाई खुवाउन थालेका छन् ।

उत्पादन भएको दुध विक्रि हुन छाडेपछि  मर्कामा परेका किसानहरुले दुधजन्य पदार्थको खोले बनाएर गाईवस्तुलाई नै खोले खुवाउन थालेका हुन् ।  दूध नबिकेर आजित भएका  करीब ३०० किसानले त्यसको विरोध गर्दै शनिबार सडकमा नै दूध फाले ।

झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताए । 

सात वटा गाई पालेका उनले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन् । “दैनिक २० लिटर दूध उत्पादन हुन्छ”, उनले भने, “यति धेरै दूध घरमै खपत हुँदैन, नबिकेपछि दही बनाएर गाईवस्तुलाई खोले दिने गरेका छौँ ।” 

सोही स्थानका अर्का पशुपालक किसान भवानी तिम्सिनाले ऋण काढेर गाई पालेकाले दूध बिक्री नहुँदा बैंकको ऋण तिर्न धौ–धौ परेको बताए । “दैनिक २२ लिटर दूध उत्पादन हुन्छ”, उनले भनिन्, “पहिले महिनाको ३५÷४० हजार आम्दानी हुन्थ्यो, अहिले बेहाल छ ।” शुरुमा गाईपालन गर्दा उत्साह भए पनि अहिले बिक्री नहुँदा समस्या भएका बताए । 

बैंकबाट रु दुई लाख ऋण लिएर गाईपालन गर्न थाल्नुभएकी लीलादेवी बानियाँले आफ्नो थातथलो उठ्ने अवस्था आएको बताए । “दैनिक ३० लिटर दूध उत्पादन हुन्छ”, उनले भने, “बिक्री हुँदैन, कसरी ऋण तिर्नु ।” 

तीन वर्षदेखि गाईपालन गर्दै आउनुभएका मोहन भट्टराईले शुरुका दिनमा मासिक रु ८० हजारसम्म कमाई गरेको अनुभव सुनाउँदै भने, “शुरुमा राम्रो आम्दानी भएपछि लगानी बढाएर गाई फार्म नै सञ्चालन गरेँ, अहिले गाह्रो भयो ।” १५ वटा गाई पाल्दै आएका भट्टराईले रु एक लाख २५ हजारमा किनेको उन्नत जातको गाई २५ हजारमा बेच्न खोज्दा पनि नबिकेको बताए ।  

दुई वर्षअघि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले किसानको घरघरमा गएर दूध उत्पादन गर्न आग्रह गरेको र सोही अनुसार किसानले दूध उत्पादन गरे पनि अहिले संस्थाले दूध खरीद नगरेको झापा गापा–४ का किसान मदन खत्रीले बताए । 

 “सहकारीले दूध उत्पादनका लागि ऋण दियो, शुरु–शुरुमा दूध किन्यो पनि”, उनले भने, “अहिले हप्तामा चार दिन दूध लिन्छ, तीन दिन लिँदैन ।” सहकारीले किसानलाई दूध उत्पादन गर्न प्रोत्साहन गरे पनि हाल दूधको मूल्य कम दिने, दूध लिए पनि कम लिने गरेको उहाँले गुनासो गर्नुभयो । 

एनएमसीले दूध खरीद गर्नुअघि भारतीय बजारमा दूध बिक्री गरिँदै आएको अर्का किसान चन्द्रबहादुर कार्कीले बताए । “एनएमसीले दूध किन्ने भनेपछि भारत दूध पठाउन छाडियो, भारतबाट आउने ग्वाला पनि आउन छाडे”, उनले भने, “अहिले भारतीय बजार पनि छैन, एनएमसीले पनि दूध लिँदैन ।” 

झापा गाउँपालिकाले किसानलाई दूध भण्डारणका लागि रु २० लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिदिने भएको छ । चिस्यान केन्द्रको भवन निर्माणको काम धमाधम भरहेको छ भने यहाँको दूध डिडिसीलाई बिक्री गर्ने विषयमा पहल भइरहेको स्थानीयवासी गोपाल खत्रीले बताए । यहाँ करीब ३०० किसानले दैनिक तीन हजार लिटर दूध उत्पादन गर्दै आएका छन् । दूध बिक्री हुन समस्या भएपछि किसानले गाईको संख्या कटौती गर्न थालेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।