सोमबार, असार २९, २०८३

संसद भवन जहाँ पंखासमेत चल्दैनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- असारको महिना, प्रचण्ड गर्मी, भवनको ढोकाभित्र छिर्नेबित्तिकै सबैका आँखा सिलिङतिर जान्छ । हलको सिलिङमा रहेका तीन वटाबाहेक अरू पंखा चल्दैनन् । 

हलभित्र छिर्ने सबैका आँखा तिनै नचल्ने पंखातिर पुग्छन् । अनि, अनुहारबाट बग्ने पसिना पुछ्दै प्रदेश-७ संसदको कारवाहीतिर ध्यान दौडाउँछन् । 

जिल्ला समन्वय समितिको हललाई प्रदेशसभाको बैठकस्थल बनाइएको छ । गत शुक्रबार प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै थियो । १५ मध्ये १२ वटा पंखा बन्द थिए । 

हलमा प्रवेश गर्नासाथ सांसदहरू पंखाका स्विच अन गर्ने प्रयास गरिरहेका थिए । तर, कुनै पंखा घुमेनन् । सत्तापक्षका सांसद बस्नेतिरका दुई र मर्यादापालक उभिनेतिरको एउटा मात्र पंखा घुमिरहेका थिए । सांसद, विशिष्ट व्यक्ति, पत्रकार र दर्शक सबैको शरीर असिनपसिन देखिन्थ्यो ।

'आज मात्र पंखा नचलेको होइन, सधैं यस्तै हो,' कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने, 'कति पटक संसदमै कुरा उठाइयो, कति पटक भेटेरै भनियो । तर, पंखा चल्नुको साटो बन्द हुने क्रम बढ्दो छ ।' वातानुकुलित बनाइनुपर्ने हलमा पंखासमेत नचल्दा सांसदको बसाइ सकसपूर्ण रहेको उनले बताए । 

प्रदेशका आर्थिक मामिला मन्त्रीले संसदमा बजेट प्रस्तुत गरिरहँदा गर्मीले असिनपसिन भएका सांसदहरू हातमा रहेको कार्यसूचीले आफूलाई हम्किरहेका थिए । त्यो पनि मर्यादापालकले रोके । 

पहाडी जिल्लाबाट आएका सांसदहरूलाई गर्मीले बढी समस्या भएको बझाङकी नेकपा सांसद शान्ता नेपालीले बताइन् । पटक–पटक यसबारेमा सभामुखसमक्ष कुरा राखे पनि सुधार नभएको उनले बताइन् । 

डोटीकी नेकपा सांसद अर्चना गहतराजले पनि सदनमा बस्नै गाह्रो भएको बताइन् । बजेट प्रस्तुत गर्दै गर्दा सभामुख अर्जुनबहादुर थापाको सिटनजिकको पंखा पनि चलिरहेको थिएन । टेबलको बत्तिसमेत नबल्दा इमर्जेन्सी लाइट बाल्नु परेको थियो । 

संसद सचिवालयको व्यवस्थापकीय कमजोरी बैठकस्थलमा पस्नासाथ छर्लंग हुन्छ । 

पुरानो संरचनाका विद्युत्को वाइरिङ, मिटर सबै बदल्नुपर्ने भएकाले यस्तो समस्या आइरहेको संसद सचिव बालाराम शर्माले बताए । भरपर्दो विद्युतीकरणका लागि स्थानीय कार्यालयलाई आग्रह गर्दा अटेर गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै फोन गरेर थ्री फेजको ट्रान्सफरमर जडान गरिएको उनको भनाइ छ । 

संसद् भवनका लागि १५ वटा एसी खरिद भएर आइसकेकाले केही दिनमै जडान गरिने जानकारी दिए ।

संसद बैठकमा पंखा चलाउन खोज्दै सांसदहरू । र, बसेर हातमा रहेको कार्यसूचीबाट हावा लिँदै । तस्बिर : शिवराज खत्री/नेपाल समय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।