काठमाडौं- शिक्षक सेवा आयोगले खुलातर्फ झन्डै १३ हजार शिक्षका लागि आवेदन माग गरेको छ ।
अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगित गरेको आयोगले खुलातर्फ १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन गरेको हो ।
आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमाविमा १ हजार ६ सय ३५ र माविमा १ हजार १ सय ८ संख्यामा विज्ञापन खुलाइएको हो ।
खुलातर्फ मावि, निमावि र प्रावि तहको परीक्षा क्रमशः आगामी असोज ११, १२ र १३ गते तोकिएको छ । खुलातर्फ २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको रिक्त दरबन्दीको विवरणका आधारमा विज्ञापन खुलाइएको हो ।
अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएकाले खुला प्रतिस्पर्धा गर्न पाउनेछन् । आन्तरिकतर्फ २०७२ अघि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको दरखास्त लिइसकिएको छ ।
प्राथमिक तहमा २०६९ सालपछि स्थायी शिक्षक छनोटका लागि खुला प्रतिस्पर्धा हुन लागेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४