काठमाडौं- काठमाडौंवासीलाई फेरि पानीको समस्या हुने भएको छ। गत चैत १५ देखि काठमाडौंमा आएको मेलम्चीको पानी २ महिना नआउने भएपछि काठमाडौंपासीले फेरि पानीको समस्या झेल्नु पर्ने भएको हो।
काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सोमबार एक सूचनामार्फत् पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ।
यसअघि चैत १५ देखि निरन्तर आइरहेको मेलम्चीको पानी दुई महिना नआउने भएका कारण पानी वितरणमा असहजता आएको सूचनामा उल्लेख छ। ‘असार १ गतेदेखि मेलम्ची सुरुङ खाली गरिने र करिब दुई महिना काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी उपलब्ध नहुने व्यहोरो विदितै छ’ जारी सूचनामा उल्लेख गरिएको छ।
मेलम्चीको पानी नआउन्जेलसम्म ग्राहकहरुलाई वितरणको लागि हुने खानेपानी परिमाणको कमीलाई ध्यानमा राखी हालको खानेपानी वितरण तालिका जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।
नयाँ तालिकाअनुसार महांकालचौरमा ७ दिन बिराएर पानी उपलब्ध हुनेछ। त्यस्तै मिनभवन, अनामनगर र ठिमी बोडेमा ७ दिन बिराएर पानी उपलब्ध हुने छ। बाँसबारी र पानीपोखरी क्षेत्रमा ५ दिन बिराएर, भक्तपुरमा ४ दिन बिराएर पानी आउने सूचनामा उल्लेख गरिएको छ।
त्यस्तै बालाजुमा ९ दिन बिराएर, सैंबु ललितपुरमा १२ दिन बिराएर र कीर्तिपुरमा २ दिन बिराएर पानी उपलब्ध गराउन सकिने केयूकेएलले जानकारी गराएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटनको हतारो भएका कारण प्रक्रिया पुरा नगरीकनै काठमाडौंमा मेलम्चीको पानी ल्याउन थालिएको थियो।
गत १५ चैतदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन थाले पनि २ महिना पानी उपलब्ध नहुने भएपछि उपत्यकावासीले फेरि पानीको समस्या झेल्नु पर्ने भएको हो।