सुर्खेत- कर्णालीका पत्रकारहरूले पत्रकार आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। मिडिया एक्सन नेपाल कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको ‘मिडिया विश्वसनीयता र आचारसंहिता कार्यान्वयन’ विषयक वेबिनार कार्यक्रममा सहभागीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।
प्रदेशका १० वटै जिल्लाका पत्रकार महासंघका पदाधिकारी र पत्रकारहरूले मिडियाको दिगोपना, पत्रकारको क्षमता विकास र आचारसंहिताबारे प्रदेश सरकार र पत्रकार महासंघले ध्यान दिनुपर्ने बताएका छन्।
सहभागीले आचारसंहिताबारे आवश्यक तालिम र प्रशिक्षण आवश्यक रहेको भन्दै यसमा सरोकारवालाले सहयोग गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले कर्णालीमा पत्रकारिताको दिगोपना र पत्रकारको क्षमता विकासमा प्रदेश सरकारले लगानी गर्ने बताइन्।
‘पत्रकारिता समाजको ऐना हो, समाजलाई सही मार्गमा लैजान पत्रकारहरूले अनुसन्धानमा जोड दिनुपर्छ,’ उनले भनिन्, ‘यसका लागि सरकारले सक्दो सहयोग गर्नेछ, आगामी बजेटमा पनि केही सम्बोधन गर्नेछौं।’
यस्तै पत्रकार महासंघ कर्णाली अध्यक्ष देवीराम देवकोटाले पत्रकार आचारसंहिताको पालनाबारे अनुगमन गर्ने र आवश्यक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख युवराज शर्माले आचारसंहिता कार्यान्वयन भएमा मिडियाप्रतिको विश्वसनीयता पनि बढ्ने बताए।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले कर्णालीमा पत्रकार आचारसंहिता कार्यान्वयनका लागि आवश्यक पर्ने तालिम सञ्चालन गर्ने र पत्रकारको क्षमता विकासमा पनि कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।