बुटवल- रुपन्देहीमा पनि निषेध आदेश केही खुकुलो बनाएर समय थप गर्ने तयारी गरिएको छ।
कोरोनाको हटस्पट बनेको यहाँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उद्योगी व्यवसायी एवं सुरक्षाकर्मीसँग आइतबार छलफल गरी असार १ गतेदेखि निषेध आदेश खुकुलो बनाउने तयारी गरेको हो। यहाँ सोमबारदेखि निषेधाज्ञाको अवधि सकिँदैछ। निषेद्य आदेश खुकुलो बनाउँदै पुनः १ साता निषेध आदेश थप्ने तयारी भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।
बिहान ९ बजेसम्म तरकारी, दुध, फलफूललगायतका पसलहरु र दिउसो ११ बजेदेखि ४ बजेसम्म र अन्य पसलहरु स्वास्थ्य मापदण्ड अपनाई खोल्न पाउने प्रारम्भिक सहमति भएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए। खुकुलो बनाइए पनि भिडभाड हुने क्षेत्र भने तत्तकाल खुल्ने छैनन्। ब्युटीपार्लर, सैलुन, हाटबजार, सिनेमाहल, सार्वजनिक यातायातलगायत भिडभाड हुने ब्यवसायहरु भने अहिले नखुल्ने भएका छन्।
बैंकहरु पनि खोल्न दिनुपर्ने माग उद्योगी व्यवसायीहरुले गरेका छन्। ४८ दिनसम्म निशेध आदेश हुँदा व्यापारी मारमा परेकाले स्वास्थ्य मापदण्ड अपनाई बजार खोल्ने वातावरण बनाउन आग्रह गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले बताए।