काठमाडौं- विश्वकप फुटबल २०१८ अन्तर्गत समूह ‘सी’मा रहेका पेरू र डेनमार्कबीचको खेल शुरु भएको छ । यी दुवै टोली पहिलोपटक एकअर्काविरुद्ध आमने–सामने हुँदै छन्।
एकअर्काविरुद्ध अनभिज्ञ रहेकाले दुवै टिम पहिलो गोलको प्रयासमा हुनेछन्। विश्वकपको सुरुवातमै जित निकाल्ने हतारोका कारण यी दुईबीच प्रतिस्पर्धात्मक भिडन्त हुने पक्का छ।
१९३० को पहिलो विश्वकप फुटबलमै सहभागिता जनाएको पेरूले न्युजिल्यान्डलाई प्लेअफमा पराजित गर्दै पाँचौँपटक विश्वकप यात्रा तय गरेको हो । यद्यपि, पेरूले १९८२ पछि विश्वकपमा स्थान बनाएको हो । झन्डै ३६ वर्षपछि पेरूले विश्वकपमा स्थान बनाएकाले पनि उसका लागि यो खेल आफैँमा ठूलो प्रतिष्ठा बन्नेछ। डेनमार्कले खेलेका पछिल्ला चार विश्वकपमध्ये तीनमा नकआउट चरणमा स्थान बनाएको थियो।
विश्वकपअघि खेलेका पाँच खेलमध्ये पेरूले चारमा जित निकाल्दै आफूलाई राम्रो फर्ममा रहेको संकेत गरेको छ। पेरूले क्रोएसिया, आइसल्यान्ड, स्कटल्यान्ड तथा साउदी अरेबियालाई पराजित गरेको थियो। पेरू अन्तिम मैत्रीपूर्ण खेलमा स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो।
मैत्रीपूर्ण खेलमा डेनमार्कको औसत प्रदर्शन रहेको छ। डेनमार्कले खेलेका पाँच खेलमध्ये दुईमा जित निकालेको छ। डेनमार्क जोर्डनसँग पराजित भएको छ। त्यस्तै, चिली र स्विडेनसँग गोलरहित बराबरी खेलेको छ।