काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनसँगको कनेक्टिभिक्टी र पारवहस सन्धी गर्न सुझाव दिएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी असार पाँच गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा विगतमा भएका सम्झौता कार्यान्वयनका लागि प्रभावकारी कदम चालिने पनि निर्णय भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता र जनसमुदायमा पैदा भएको उत्साहलाई आत्मसातलाई सक्रियतापूर्वक अघि बढाउनुपर्ने बताएका छन् । पार्टी एकतालाई अझ सुदृढ र फलदायी बनाउन दुबै अध्यक्षले पार्टी पंक्तिलाई आह्वान र निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
सरकारका कामलाई प्रभावकारी बनाउने
यसैबीच बैठकले सरकारका कामलाई प्रभावकारी बनाएर अघि बढाउने निर्णय गरेको छ । सरकारको कामलाई थप समीक्षा गर्दे सरकारी कामलाई थप प्रभावकारी बनाउन पार्टी पंक्तिलाई पनि परिचालन गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
बैठकमा महासचिव कमरेड विष्णु पौडेलले एकतापछि भएका सांगठनिक कामहरुका बारेमा जानकारी गराएका थिए । एकीकरण प्रक्रिया ठीक ढंगले बढिरहेको र यसलाई गतिका साथ अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ ।
१० दिन भित्र सुझाव दिन निर्देशन
महासचिव कमरेड विष्णु पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि बैठकमा छलफल भएको छ । मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय–सुझावहरु दिने र केन्द्रीय सचिवालयले ती राय–सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५ दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने तय भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४