काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट शिलान्यास गरेका छन्। उनले आज भर्चुअल माध्यमबाट उक्त अक्सिजन प्लान्टको शिलान्यास गरेका हुन्।
शिलान्यासपछि प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तिव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए।
कोभिड १९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको उनले बताए। ‘दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो। त्यति बेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं,’ उनले भने।
अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको उनले उल्लेख गरे। त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय बेडभन्दा बढी क्षमता भएका अस्पतालले अनिवार्य रुपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि उनले बताए। महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको जानकारी पनि प्रधानमन्त्रीले दिए।
दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सराहनीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको पनि उनले बताए।
यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अभिभावक विहिन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी पनि दिए। अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुट लगायतका सहयोग गर्न सरकार तयार रहेको उनले बताए।
आगामी दिनमा कोभिड १९ को महामारी हटिसके पछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताए।
अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रामा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने उनको भनाइ छ। छिमेकी देशका आवश्यकता र औद्योगिकरणका लागि पनि अक्सिजनको खपत बढ्ने समेत उनले बताए ।
रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्टबाट प्रतिदिन ६० टन अक्सिजन उत्पादन हुने बताइएको छ। यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ।