काठमाडौं- उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ।
जेठ मसान्तसम्मका लागि तोकिएको निषेध आदेशको समय सकिन लागेकाले थप निर्णय गर्न बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
‘ निषेध आदेशका सम्बन्धमा आवश्यक निर्णय गर्न आज दिउँसो साढे ३ बजे हाम्रो बैठक बस्दैछ,’उनले भने,‘मोटामोटी केही खुकुलो पारेर थप गर्ने की भन्ने हो। तर, अब बैठक बसेपछि मात्रै यकिन थाहा हुन्छ।’
कोरोना संक्रमणको दर घटे पनि जोखिम घटिनसकेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरूको तयारी छ। तर, निषेधाज्ञाका प्रावधानहरूलाई चाहिँ खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ।
आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निषेध आदेश खुकुलो पार्दै जनजिवन सहज गर्नुपर्ने चौतर्फी माग बढिरहेका बेला आवश्यक निर्णय लिइने भएको छ। उपत्यकामा बैशाख १६ गतेदेखि लगाइएको निषेध आदेश निरन्तर जारी छ।