सोमबार, भदौ ८, २०८३

कुलदेवताका लागि जब दाइले भाइको हत्या गरे

यी दुई भाइबीचको विवाद पैसाको लेनदेन, जग्गा वा अन्य कुनै सम्पत्तिका लागि नभएर कुलदेवताका लागि थियो।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

जनकपुरधाम- महोत्तरीको लोहारपट्टी नगरपालिका-७, भ्रमरपुराका रामचन्द्र साह र लक्ष्मण साहबीच विगत केही वर्षदेखि लगातार विवाद हुँदै आइरहेको थियो। यी दुई भाइबीचको विवाद पैसाको लेनदेन, जग्गा वा अन्य कुनै सम्पत्तिका लागि नभएर कुलदेवताका लागि थियो।

यो विवाद यहाँसम्म बल्झियो कि ५० वर्षीय रामचन्द्रले आफ्नै कान्छो भाइ ४५ वर्षीय लक्ष्मणको हत्या गर्न पुगे। दुवै भाइको कुलदेवताको घर लक्ष्मणको घरमा थियो। रामचन्द्रले भने कुलदेवतालाई आफ्नै घरमा स्थापित गर्न चाहन्थे। 

यो विवाद दुई भाइ अलग भएदेखि नै सुरु भइसकेको थियो। ४-५ वर्षदेखिको विवादको परिणाम लक्ष्मणको मृत्युको रुपमा आएको छ।

जेठ २६ गते मौका पाएलगत्तै रामचन्द्रले कुलदेवताको पिँढीलाई उखालेर आफ्नो घरमा लाने प्रयास गरिरहेका थिए। तर, लक्ष्मणले त्यो चाल पाए। लक्ष्मणले भतिजाहरूसँगै पुगेका आफ्नो दाइलाई रोक्ने प्रयास गरे। तर, उनी असफल रहे।

उनीमाथि भतिजाहरू र दाइले मिलेर लाठीले टाउकोमा प्रहार गरे र उनी गम्भीर घाइते भए।

घाइते भएका लक्ष्मणलाई उपचारका लागि रामचन्द्रको परिवारका केही सदस्य र उनको श्रीमतीले जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो। 

स्थानीय नरेन्द्रप्रसाद शर्माका अनुसार लक्ष्मणको मृत्यु काठमाडौंमा भएको थियो। ‘कतिपटक त हँसिया लिएर मार्नै पुगेका रामचन्द्रलाई हामीले रोकेका छौँ,’ उनले भने, ‘त्यो दिन रामचन्द्रले यतिसम्म गर्न सक्छ भन्ने हामीले चाल पाएनौँ र यो घटना घट्यो।’

लक्ष्मणको शव शुक्रबार गाउँ ल्याइएको छ। तर, अन्त्येष्टि भने गरिएको छैन। पीडितको न्यायका लागि पहल नभएसम्म शव अन्त्येष्टि हुन नदिने गाउँवासीको माग छ। गाउँवासीमा शोकभन्दा पनि आक्रोश बढी देखिएको छ। ‘यहाँ कसैको हत्या भएको छ तर प्रहरी प्रशासनलगायत केही व्यक्ति मिलेर पीडकहरूलाई बचाउन खोजिरहेका छन्,’ शर्माको आरोप छ।

लक्ष्मणकी श्रीमती ४० वर्षीया ममता साहसमेत घाइते छिन्। श्रीमानलाई बचाउन खोज्दा उनीमाथि समेत आक्रमण गर्ने प्रयास गरियो। तर, गाउँमा होहल्ला भएपछि उनको ज्यान बच्यो। 

अहिले उनी श्रीमानको हत्यारालाई कडाभन्दा कडा कारबाहीका साथै आफ्नो बच्चाहरूको पालनपोषण तथा शिक्षादिक्षाको व्यवस्था गरिदिन माग गरेकी छिन्। 

लोहारपट्टी नगरपालिका–७ का वडाध्यक्ष गणेश ठाकुरले घटना भएको दिन आफूलाई खबर भएलगत्तै प्रहरी प्रशासनलाई खबर गरेको बताए। ‘उपचारका लागि लक्ष्मणलाई अस्पताल पठायौँ, तर बचाउन सकिएन,’ उनले भने। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले लक्ष्मणको हत्याका आरोपीहरू रामचन्द्रसहित उनको श्रीमती र एकजना छोरा फरार रहेको बताए। घटनामा संलग्न अन्य दुईजनालाई पक्राउ गरिएको र अन्य बाँकी फरार रहेका व्यक्तिहरूको खोजी भइरहेको उनको भनाइ छ।

प्रकाशित: Jun 13, 2021| 02:36 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।