बुटवल- लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुबीच आरोप-प्रत्यारोप चलेको छ। आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि भएको छलफलको दोस्रो दिन शनिबार सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच दोहोरी चलेको हो।
सत्तासिन सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गरे। विपक्षी सांसदहरुले भने सरकारले बहुमत पुष्टि नगरेसम्म नीति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने बताएका छन्। नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनीका पूर्वमन्त्री सुदर्शन बरालले सरकारले बहुमत पुष्टि नगरी बजेट ल्याउन नमिल्ने बताए। उनले सरकार गठन संविधानको धारा १६८(१) अनुसार भएको र अहिले एमाले ४१ बाट ३८ संख्यामा झरेकाले अल्पमतमा परेको बताए।
‘सांसदको संख्या ७९ हुँदा ४१ को दाबीअनुसार मुख्यमन्त्री बन्नुभयो, तर, जसपाका ४ सांसद जसलाई जेठ ३ गते संसदले पुनर्स्थापना गर्यो, त्यसपछि सरकार संविधानको धारा १६८(२) अनुसारको बनेको छ’ सांसद बरालले भने, ‘संविधानको १६८ को २ अनुुसार सरकार बन्दा मुख्यमन्त्रीलाई मन लागेपछि विश्वासको मत लिने भन्ने कुनै प्रावधान छैन, त्यसैले तपाइँले नीति कार्यक्रम पेश गर्न सक्नुहुन्न, बजेट ल्याउन सक्नुहुन्न।’ उनले मुख्यमन्त्रीमा महाभारतको दुर्योधनमा जस्तै दम्भ र अंहकार रहेको आरोप लगाए।
सरकारको चर्को आलोचना गरेका माओवादी नेता बरालले नीति तथा कार्यक्रम गत वर्षकै निरन्तरता भएको बताए। उनले अघिल्लो आर्थिक वर्षकै कार्यक्रमलाई देखाएर भ्रम छर्ने काम भएको बताए।
बरालले सरकारको तीव्र आलोचना गरेपछि सत्तासिन एमालेका सांसद रामजी घिमिरेले प्रतिपक्षी दलहरुमा राजनीतिक संस्कार नभएको टिप्पणी गरे। उनले केन्द्रीय राजनीतिमा प्रतिपक्षीहरुले निकास दिन नसक्दा मुलुक मध्यावधि निर्वाचनमा गएको बताए। उनले ताजा जनादेशमा जाने कुरा प्रतिगामी हुनै नसक्ने बताए। उनले राजनीति नबुझेकाहरुले झुट प्रचार गरेर गोयबल्स बन्न खोजेको आरोप लगाए। प्रदेश सरकासँग स्पष्ट बहुमत भएको भन्दै दलीय अस्तित्वभन्दा बाहिर जान नहुने उनको तर्क छ।
सरकारको नीति कार्यक्रम अग्रगामी र प्रदेशको लक्ष्य र सोचलाई पूरा गर्ने खालको रहेको सांसद घिमिरेको जिकिर छ।
सांसद पुष्पा थरुनीले प्रदेश सरकारले खोपको व्यवस्था गर्नुपर्ने बताइन्। सांसद पुरन बज्रचार्यले सरकारको नीति तथा कार्यक्रमले प्रदेशलाई समृद्ध बनाउने गरी ल्याइएको बताए।
नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले वैदेशिक रोजगारबाट फर्कनेहरुका लागि नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताइन्। कागजी फूल भएको तर यसले बास्ना भने दिन नसक्ने उनको आरोप छ। सरकारले गत २५ गते नीति तथा कार्यक्रम ल्याएको थियो।
उक्त दिन विपक्षीहरुले प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्दा विरोध जनाउँदै ससंदमै उपस्थित भएका थिएनन्। नीति तथा कार्यक्रममाथि आइतबार दिउँसो १ बजे पनि प्रदेशसभामा छलफल हुने छ।