विराटनगर- प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशनमा नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्ने क्रम जारी छ। नीति तथा कार्यक्रममा भाग लिने एमाले सांसद (नेपाल समूह) लाई प्रमुख सचेतकले पक्षमा बोल्न पत्र पठाएको बताएका छन्।
सांसद उपेन्द्र घिमिरेले सत्तापक्षका सांसदहरुलाई पत्र लेखेर नीति तथा कार्यक्रमको पक्षमा बोल्न लगाइएको बताए।
शनिबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद घिमिरेले एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमारराज भण्डारीद्वारा लिखित चिठीका कारण आफूलाई रोष्टममा उभिन बाध्य हुनुपरेको बताए। उनले भने, ‘सरकार किन डराएको हो ? हामी त सत्तापक्ष हौं।’ मुख्यमन्त्री शेरधन राईको हवाला दिएर पत्र लेखिएको उनले दाबी गरे।
नीति तथा कार्यक्रमले मजदुर, श्रमिक र नदी किनारमा बसेका सुकुम्बासीले के–के पाए ? हिजो बनाएको कार्यक्रम सफल भयो कि भएन ? हामीले असल नीति लियौँ कि लिएनौं भन्ने कुराको संकेत यहाँबाट देखापर्दैछ,’ उनले भने, ‘हामीले जहिले पनि दलाल पूँजीपतिहरुको हित हुने बजेट बनाएका छौं। त्यसकारण ती गरिब, दलित, सुकुम्बासीहरु र भूमिहीन सुकुम्बासीहरुको बीचमा त्यो बजेट कहिल्यै पुग्दैन। त्यसैले यो नीति तथा कार्यक्रम गलत छ।’
सांसद अम्बिका थापाले कोरोना महामारीका कारण प्रदेश १ आक्रान्त बनिरहेका बेला स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर ल्याइएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताइन्। सांसद आशारत्न जवेगुले आगामी आ.ब.को नीति तथा कार्यक्रम प्रदेश १ लाई समृद्ध र समुन्नत बनाउनेतर्फ उन्मुख रहेको भन्दै समर्थन गरेकी थिइन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नीति तथा कार्यक्रममा आश्वासनको पुलिन्दा मात्रै बाँडिएको बताए। माओवादी केन्द्रका सांसद धिरेन्द्र शर्माले ३ वर्षदेखि प्रदेशका गौरवका योजना, रणनीतिक महत्वका योजना र अरुमासमेत बजेट हाल्ने हो भने ५० अर्ब रुपैयाँले पनि नपुग्ने भन्दै भ्रम मात्र छरिएको बताएका थिए।