पोखरा- प्रदेश सभामा विश्वासको मत लिन असफल भएका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेका छन्। गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पुनः मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
जनमोर्चाका कृष्ण थापा र जसपा प्रदेश कमिटीले आफूलाई समर्थन दिने भन्दै गुरुङले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। जनमोर्चाका कृष्ण थापा पनि प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।
जेठ २७ गते विश्वासका मतका लागि गरिएको प्रस्तावमा बहुमत जुटाउन नसकेका गुरुङले दाबी गर्नु र यसअघि नै बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त नगराउनुले गण्डकीको राजनीतिमा नयाँ ट्विस्ट आउन सक्ने आकलन गरिएको छ।
२७ गते नै गुरुङले आफूले विश्वासको मत लिन नसके एक मिनेट पनि पदमा नबस्ने बताएका थिए। तर शनिबार पुन उनले मुख्यमन्त्रीमा दाबी गर्नुलाई आश्चर्यका रूपमा लिइएको छ।