काठमाडौं- यस वर्षको पुलित्जर ‘विशेष पत्रकारिता पुरस्कार’ अमेरिकामा प्रहरीको नियन्त्रणमा मारिएका जर्ज फ्लोयडको भिडियो बनाउने युवतीले पाएकी छन्।
प्रहरीको नियन्त्रणमा रहँदा फ्लोयडले ज्यान गुमाएको भिडियो १८ वर्षीया डारनेला फ्रेजियरले बनाएकी थिइन्। उनको साहसका लागि यो अवार्ड प्रदान गरिएको द पुलित्जर प्राइज बोर्डले जनाएको छ।
ती युवतीले बनाएको यो भिडियो क्लिपको माध्यमबाट अमेरिकी अदालतले फ्लोयडको मृत्यु प्रकरणमा पूर्व प्रहरी अधिकारी डेरेक शाविनलाई हत्यामा दोषी ठहर गरेको थियो।
यही भिडियो नै यो घटनाको सबैभन्दा महत्वपूर्ण प्रमाण बनेको थियो। यो भिडियोले फ्लोयडको परिवारलाई न्याय दिलाउनुका साथै अमेरिकामा विभेदविरुद्ध एउटा ठूलो आन्दोलनको जन्म दिएको थियो।
डारनेलाले गत वर्ष मे २५ मा यो भिडियो रेकर्ड गरेकी थिइन्। एक आफन्तसँग कतै जाँदै गरेकी उनले सडकमा देखिएको घटनालाई मोबाइलमा रेकर्ड गरेकी हुन्।
डारनेलाले अदालत भनेकी थिइन्, ‘मैले त्यो भिडियो यसकारण बनाएँ कि त्यहाँ एक व्यक्तिले जीवनको भिख मागिरहेका थिए तर प्रहरीले यातना दिइरहेको थियो।’
उनले अदालतसमक्ष आफ्नो वयानमा भनेकी थिइन्, ‘जर्ज फ्लोयडले बोल्न सकिरहेका थिएनन्, तर आमा आमा भनेको चाँहि अलि अलि सुनिरहेकी थिएँ।’
यो भिडियोपछि जातीय विभेदविरुद्ध अमेरिकामा मात्रै नभई विश्वभर एउटा आक्रोश उत्पन्न भएको थियो। त्यसपछि अमेरिकालगायत विश्वका थुप्रै सहरमा नस्लीय विभेदविरुद्ध विशाल प्रदर्शन भएका थिए।
उनले अदालतमा रुँदै भनेकी थिइन्, ‘जब मैले जर्ज फ्लोयडको देख्छु, तब म मेरा बुवालाई देख्छु, मेरो भाइलाई देख्छु, मेरो काकालाई देख्छु, किनकी उनीहरु सबै काला छन्। र मलाई सँधै डर लागिरहन्छ कि त्यो ठाउँमा जर्ज फ्लोयडको ठाउँमा अरु जो कोही पनि त हुन सक्थ्यो।’
यस वर्षको पुलित्जर पुरस्कार घोषणा, कोको भए पुरस्कृत?
सार्वजनिक सेवा : न्युयोर्क टाइम्स
ब्रेकिङ् न्युज : स्टार ट्रिब्युन
खोज पत्रकारिता : बोस्टन ग्लोबका पत्रकार म्यान रुचेल, भर्नल क्लोमन, लौरा रिमल्दी, इभान एलिन र ब्रेन्डन क्यार्थी
व्याख्यात्मक रिपोर्टिङ : रोयटर्सका पत्रकार एन्ड्रु हङ, लरेन्स अर्ले, एन्ड्री जनुता, जेमी डोडेल र जेकी बोट्स।
स्थानीय रिपोर्टिङ : टम्पा बे टाइम्सका क्याथलिन ग्रोरी र निल बेडी
राष्ट्रिय रिपोर्टिङतर्फ : द मार्सल प्रोजेक्टका पत्रकारहरु, एएल डटकम, ब्रीमिङ्गम, इन्डी स्टार, इण्डियनापोलिस इन्भिजिबल इन्स्टिच्युट र सिकागो
अन्तर्राष्ट्रिय रिपोर्टिङ : मेघा राजागोपालन, एलिशन किलिन र क्रिष्टो बुचेग
फिचर लेखन : रनर्स वर्ल्डमा स्वतन्त्र रुपमा फिचर लेख्ने मिचल ज्याक्सन
टिप्पणी : रिचमण्ड टाइम्स डिस्प्याचका मिचेल पल विलियम्स
सम्पादकीय : लस एन्जल्स टाइम्सका रोबर्ट ग्रिनी
ब्रेकिङ न्युजतर्फको फोटोग्राफी : एसोसिएटेड प्रेस
फिचर फोटोग्राफी : एसोसिएटेड प्रेसका इमिलियो मोरनाटी
अडियो रिपोर्टिङ : नेशनल पब्लिक रेडियोका लिसा एजन, किस एजल, ग्राहम स्मिथ र रोबर्ट लिट्ल