जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका–७, खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सिल गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठकको निर्णयअनुसार शुक्रबार बेलुकादेखि सिल गरेको हो।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना संक्रमित छन्। त्यस्तै महत गाउँमा ६ जना संक्रमित छन्। सबैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरे पनि नमानेपछि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामग्री घरमै पु¥याएको महतले बताए।
संक्रमितहरूको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट टे«सिङ नहुन्जेलसम्म गाउँ नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।
वैशाखयता जुम्लामा कोरोना संक्रमितको संख्या ५८९ पुगेको छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या ३३२ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचाररत छन्। रासस