सुर्खेत- यौन दुर्व्यवहारमा परेका दुई राउटे युवतीको स्वास्थ्य परीक्षण गरिएको छ। यौन दुर्व्यवहारमा परेको ८ दिनपछि पीडितको स्वास्थ्य परीक्षण गरिएको हो।
प्रदेश अस्पताल सुर्खेतमा उनीको स्वास्थ्य परीक्षण भएको राउटे समुदायको संरक्षणमा क्रियाशील पत्रकार नगेन्द्र उपाध्यायले जानकारी दिए। उपाध्याय पीडित युवतीहरूको लागि गठित ‘काउन्सेलिङ तथा घटना अनुसन्धान समिति’का सदस्यसमेत हुन्।
परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन। पीडितलाई थाहा नदिएरै स्वास्थ्य परीक्षण गरिएको हो। यौन दुर्व्यवहारको घटनाबारे हालसम्म राउटे समुदायलाई जानकारी दिइएको छैन।
जेठ २१ गते राती गुर्भाकोट नगरपालिकाका दुईजना युवाहरुले राउटे युवतिमाथि यौन दुर्व्यवहार गरेका थिए। सामाजिक सञ्चालमा यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते मात्रै घटना सार्वजनिक भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित मनकामना होटल सञ्चालक विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढा पक्राउ परेका छन्।