काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुखले बोलाएको सर्वदलीय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, चुरे संरक्षण र कोरोना नियन्त्रणबारे छलफल भएको बताएका छन्। बैठकमा सहभागी भएर बाहिरिने क्रममा डा भट्टराईले यस्तो बताएका हुन्।
'पछिल्लो राजनीतिक घटनाक्रम, चुरे संरक्षण, र कोरोना नियन्त्रणबारे छलफल भएको छ,' डा भट्टराईले भने, 'सभामुखबाट सकारात्मक पहलकदमी भएका छन्।'
उनले संविधान असफल पार्ने ग्र्यान्ड डिजाइन भइरहेको उल्लेख गरेका थिए। ओलीले राजनीतिक बेइमानीका शृंखला थप्दै गएको भन्दै उनका गतिविधि टिप्पणी गर्न लायक नभएको उल्लेख गरे।
बैठकमा सहभागी भएका राप्रपाका नेता दीपक बोहराले भने पूर्वप्रधानमन्त्रीहरूसहित सबैले समसामयिक विषयमा आफ्नो भनाइ राखेको तर निचोड निस्किएको बताए।
बैठकमा सत्तापक्षमा रहेका दलका प्रमुखहरू भने सहभागी भएनन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि एमाले अध्यक्षका हैसियतमा निमन्त्रणा गरिएको भएपनि उनी बैठकमा सहभागी नभएका हुन्। यस्तै जसपाको महन्थ ठाकुर पक्षले पनि बैठकलाई बहिष्कार गरेको छ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको ६५ दिनमा प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो। तर जेठ ७ मा ओलीले पुनः दोस्रोपटक प्रतिनिधि सभा विघटन गरिदिएका छन्। यसविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र एमालेको माधवकुमार नेपाल पक्ष, जसपाको नेपाल मजदुर किसान पार्टी र जसपाको उपेन्द्र यादव-बाबुराम पक्षले मोर्चाबन्दी गरेको छ।