काठमाडौं– शनिबार बिहान बालुवाटारमा संसदीय दलको बैठक चलिरहँदा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै छटपटीमा देखिए। प्रधानमन्त्रीले आधा घण्टा समय लिएर बोलिरहँदा अध्यक्ष प्रचण्डले झण्डै पाँच पटक घडी हेरेका थिए। यो गतिविधि हेर्दा लाग्थ्यो, दुवै नेता हतारमा छन् ।
व्यस्त समयबीच शनिबार संसदीय दलको बैठक डाकिएको थियो। पार्टी एकीकरणपछि यो प्रकारको बैठक पहिलो थियो। बजेटका विषयमा सांसदहरूलाई बोल्नका लागि नाम लेखिएको थियो। त्यसअनुसार ५५ सांसदले बोल्नका लागि नाम लेखाएका थिए।
बिहान साढे आठ बजे शुरु भएको दलको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड दुवैले सम्बोधन गरेका थिए। प्रधानमन्त्रीले सम्बोधन गर्दा शनिबारको 'टाइट सेड्युल' भएको बताउँदै बिदा मागेका थिए। लगत्तै प्रचण्डले पनि बिदा माग्ने संकेत गरे।
तर, बैठकको बीचमा सांसदहरूले एकछिन हल्ला गरे, 'बैठकमा सकेसम्म प्रधानमन्त्री बस्नुपर्छ नभए अध्यक्ष बस्नुपर्छ ।' मञ्चमा सँगै बसेका दुई नेताबीच खासखुस चलेको देखियो। त्यसपछि प्रचण्डले आफू बस्ने र कुरा सुन्ने आश्वासन दिए।
त्यसपछि सांसदहरूले बजेटमाथि छलफल थाले । केही सांसद बोली सक्दा खानाको समय भएको थियो। खानाका लागि बैठक स्थगित भयो। त्यसभन्दा अघि नै बाहिर निस्केका प्रचण्ड फेरि फर्किएर आएनन्।
५५ जनाले बोल्न नाम लेखाए पनि अपरान्ह २ बजेसम्म २२ ले मात्र बोल्न भ्याए। त्यसपछि स्थायी समितिको बैठक भएको बताउँदै संसदीय दलका उपनेता सुभास नेम्बाङले बैठक समापन गरे। समापनपछि पनि सांसदले खासखुस गरे, 'खोई त अध्यक्ष प्रचण्ड ।' आइहाल्छु भनेर बाहिरिएका उनी भने नफर्किने गरी टाप कसिसकेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४